• १३ असोज २०८१, आइतबार

‘सम्झनामा बालकृष्ण सम’

blog

काठमाडौं, माघ २४ गते । १२२ औँ सम जयन्तीको अवसर पारेर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘सम्झनामा बालकृष्ण सम’ शीर्षकमा विचार गोष्ठी तथा अन्तरक्रिया, कविता वाचन, चित्रकला र वृत्तचित्र प्रदर्शनी कार्यक्रम गरिएको छ । 

ललित कला प्रज्ञा प्रतिष्ठानमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा तीन वटै प्रज्ञा प्रतिष्ठानका कुलपतिले संयुक्त रूपमा बालकृष्ण समको तस्बिरमा माल्यार्पण गर्नुभएको हो । 

कार्यक्रममा बोल्नुहुँदै कुलपति निशा शर्माले आजको यस कार्यक्रममा प्रदर्शन गरिएको वृत्तचित्रले बालकृष्ण सम रङ्गमञ्च र साहित्यका बाहेक चित्रकलाका पनि महान् कलाकार हुन् भन्ने स्पष्ट पारेको बताउनुभयो । उहाँका कृतिहरू प्रह्लाद, भीमसेनको अन्त्य, स्वास्नी मान्छे, चिसो चुल्हो लगायतका कृतिमाथि कलाकारहरूले बनाउने चित्र हेर्न आतुर रहेको कुलपति शर्माले बताउनुभयो । 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले बालकृष्ण सम साहित्य र चित्रकलाका विधामा अब्बल स्रष्टा भएतापनि उहाँलाई नाटककारका रूपमा बढी चर्चा गरिनुपर्ने बताउनुभयो । उहाँले तीन वटै प्रज्ञा प्रतिष्ठानको सहकार्यबाट यस कार्यक्रमको आयोजना हुनुले तीन वटै प्राज्ञिक संस्था एकै ठाउँमा छ भन्ने सन्देश दिएको बताउनुहुँदै अब यी प्राज्ञिक संस्थाको परम्परागत कार्यशैलीलाई फरक र नयाँ शैलीबाट चलायमान बनाउनुपर्नेमा जोड दिनुभयो । 

त्यस्तै कार्यक्रममा बोल्दै ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छलीले समको योगदानको चर्चा गर्नुहुँदै सेक्सपियरको नाट्यशैलीलाई बालकृष्ण समले नेपालीकरण गर्नु भएर नेपाली नाट्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनुभएको बताउनुहुँदै समलाई समग्र कला र साहित्य क्षेत्रका अभिभावकको रूपमा चित्रण गर्नुभयो ।

कार्यक्रममा डा. अशोक थापाले बालकृष्ण समले नाटकमा पुर्‍याउनुभएको योगदान र नाटकमा प्रयोग भएका बहुआयामिक पक्षलाई समेटेर ‘समको गुणात्मक नाट्य योगदान’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि विष्णु ज्ञवालीले टिप्पणी गर्नुभएको थियो । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवले सहजीकरण गर्नुभएको कार्यक्रममा प्राज्ञ बाबा बस्नेत, राधा कार्की, विष्णु ज्ञवाली, सन्ध्या पहाडी लगायतले कविता वाचन गर्नुभएको थियो भने कार्यक्रममा रमेश खनालद्वारा लेखन तथा निर्देशन गरिएको बालकृष्ण समको चित्रकारितामा आधारित वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो । 

कार्यक्रममा बालकृष्ण समको प्रह्लाद, भीमसेनको अन्त्य, स्वास्नी मान्छे, चिसो चुल्हो जस्ता कृतिमा आधारित चित्रकला निर्माण गर्न क्यानभास उपलब्ध गराइएको थियो ।   कार्यक्रममा प्रज्ञा प्रतिष्ठानहरूका पदाधिकारी, नाट्यकर्मी, कलाकर्मी तथा साहित्यकारहरूको उपस्थिति थियो ।