अनिल पराजुली
हेटौँडा, माघ २३ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा–१९, सान्नानिटारमा मङ्गलबार दिउँसो बस र बोलेरो एक आपसमा ठक्कर हुँदा ११ जना यात्रु घाइते भएका छन् ।
दिउँसो करिब ३:४५ बजेको समयमा यात्रुवाहक बसले बोलेरोलाई ठक्कर दिँदा ११ जना घाइते भएका हुन् । वीरगञ्जबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३२२९ नम्बरको यात्रुवाहक बसको पट्टा भाँच्चिएर अनियन्त्रित हुँदा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना ४ च २९३२ नम्बरको बलेरो पिकअप गाडीमा ठोक्किँएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनेमा चितवन माडी–५ बस्ने ३१ वर्षीय यम बहादुर दरै, हेटौँडा–११ नवलपुर बस्ने २१ वर्षीया रमा सापकोटा, बारा जितपुर सिमरा–२ बस्ने २७ वर्षीय जीवन लामा, कलैया–२६ महेसपुर बस्ने ३० वर्षीया मन्जुदेवी कपाली, उहाँको छोरा ३ वर्षीय नितेश कपाली, हेटौँडा–१९ नेवारपानी बस्ने ३२ वर्षीया विमला श्रेष्ठ, सोही स्थान बस्ने २९ वर्षीय कल्पना श्रेष्ठ रहनुभएको छ ।
त्यस्तै बस चालक धनगढी–१३ बस्ने ३८ वर्षीय मौली राना, बसको सहचालक २४ वर्षीय अबिशेक शर्मा,भारत बिहार राज्य पश्चिम चम्पारन १३ बस्ने ४५ वर्षीय हिरालाल सर्मा र हेटौँडा–१९ नेवारपानी बस्ने ३४ वर्षीय सुशील श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार घाइते ११ जनाको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको हात, खुट्टा, टाउकोमा चोट लागेको छ । उक्त बसमा २६ जना यात्रु सवार थिए । बोलेरो पिकअप गाडीको चालकलाई केही नभएको प्रहरीले जनाएको छ ।