• ३१ वैशाख २०८२, बुधबार

कुमाल भाषा सम्बन्धी प्रशिक्षण हुने

blog

भानु नगरपालिका–१ मा आफ्नो मौलिक पोशाक लगाएक कुमाल महिला । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख ३१ गते । कुमाल समुदायले बोल्ने कुमाल भाषा लोप हुने अवस्थामा पुगेको छ । कुमाल परिवारमै भाषाको प्रयोग नगर्नाले पनि यो भाषा हाल लोप हुने अवस्थामा पुगेको हो ।

भाषा सङ्कटमा परेकाले भाषा बचाउनको निम्ति पनि यो भाषासम्बन्धी प्रशिक्षणको व्यवस्था गर्न लागिएको कुमाल समाज नेपाल तनहुँका अध्यक्ष लोकबहादुर कुमालले बताउनुभयो । थाकथलो छोडेर सहरी क्षेत्रमा आउने क्रम बढ्दो रहेको र सहरी क्षेत्रमा मिश्रित जाति रहेकाले बोल्ने चलन हराउँदै जाँदा लोप हुँदै गएको कुमालले बताउनुभयाे ।

भानु नगरपालिका–२ की सलिना कुमाल राम्रोसँग आफ्नो भाषा बोल्न जान्नुहुन्न । आफ्नो छोराछोरी दुवैलाई भाषा बोल्न नजानेको उहाँले बताउनुभयो । परिवार तथा आफ्नो समुदायका छिमेकीले कुमाल भाषा नबोल्ने र बोल्ने कोही नहुँदा भाषा नजानेको उहाँ बताउनुहुन्छ । सलिनाले भन्नुभयो, "सानो हुँदा हजुरबा र हजुरआमाले अलिअलि बोलेको याद आउँछ पछि उहाँहरूले बोल्न छोड्नुभयो, हामीले जानेको पनि धेरै  बिर्सियौं,"। गाउँमा अधिकांशले मातृभाषा भाषा नबोल्ने सलिना बताउनुहुन्छ ।

व्यास नगरपालिका–५ कुमाल गाउँका वीरबहादुर कुमाल मातृभाषा जान्नुहुन्न । आफ्नो मातृभाषा हराउँदै गएकामा अगुवा चिन्तित छन् तर सिकाउने मान्छे कोही पनि छैनन् । ६८ वर्षीय सरस्वती कुमाल अहिलेसम्म कुमालभाषा नबोलेको बताउनुभयो । १११ वर्ष पहिलेदेखि नै कुमाल भाषा प्रचलनमा नरहेको पाइएको एक अनुसन्धानबाट खुलेको छ ।

वडा नम्बर ५ साँगेमा एक ठाउँमा १५० र अर्को ठाउँमा ७८ गरी २२८ घरपरिवारका ७०० जनसङ्ख्या भएपनि बोलीचालीबाट हराएको पाइएको कुमाल भाषा र संस्कृतिको अध्ययन गर्नुभएका दमौलीस्थित भानुभक्त क्याम्पसका उपप्राध्यापक डा.वसन्त कँडेलले जानकारी दिनुभयो । डा. कँडेलले 'स्थानीय सरकार र भाषा नीति'मा विद्यावारिधि गर्नुभएको छ । दुवै गाउँमा कुमाल भाषा बोल्न एक जनाले पनि नजानेको अनुसन्धानकर्ता डा. कँडेलले जानकारी दिनुभयो । 

जातिकै बाहुल्यता भएका क्षेत्रका स्थानीय तहहरूले पनि भाषा संरक्षणमा चासो नदिएको र पूराना पुस्ताले पनि कुमाल भाषा प्रयोग गर्न छाड्नु र नयाँ पुस्ताले सिक्ने चासो नदिँदा भाषा बोल्नेको सङ्ख्या न्यून हुँदै गएको कँडेल बताउनुहुन्छ । भौतिक विकाससँगै सामाजिक विकास नभएकाले भाषा र संस्कृतिहरू लोप हुँदै गएको कँडेलको भनाइ छ । विश्वमा छ हजार आठसय भाषा रहेकोमा प्रत्येक हप्ता एक भाषाको मृत्यु हुने गरेको जानकारी दिँदै कँडेलले कुमाल समुदायको भाषिक मृत्यु हुने खतरा भएको बताउनुहुन्छ ।

व्यास नगरपालिकाले २०७५ सालमा गरेको आर्थिक सर्वेक्षणमा एक हजार ४९७ कुमालको जनसङ्यामा ४७ जनाले आफ्नो भाषा बोल्न जानेको बताएका थिए । डा। कँडेलले भन्नुभयो, "कुमाल भाषा सङ्कट उन्मुख छ संरक्षण सम्वर्धन गरिएन भने भाषिक मृत्यु हुने देखिएको छ ।" स्थानीय निकाय संरक्षण सम्वर्धनमा चुकेको खाली डोजरे विकासमा ध्यान गएको कँडेलको भनाइ छ । 

उपप्राध्यापक डा. कँडेलका अनुसार संविधानमा राष्ट्रिय भाषा आयोगको व्यवस्था गरेको छ । स्थानीय तहको २२ वटा स्वायक्त अधिकार मध्य अन्तिम २२ मा भाषा, कला, संस्कृतिको लिपिको संरक्षण उल्लेख गरिएको छ । अध्ययन अनुसन्धाको क्रममा १९७० देखि नै कुमाल गाउँमा भाषा बोल्न छाडेको पाईएको छ ।

तनहुँको घिरिङ गाउँपालिकाका कुमाल समुदायले भाषा बोल्ने गरेको पाईएपनि अन्य स्थानमा अधिकांशले बोल्न छाडेको कुमाल बताउनुहुन्छ । भानु, व्यास, शुक्लागण्डकी, भीमाद नगरपालिका र घिरिङ गाउँपालिकामा कुमाल समुदायको बसोवास छ । जिल्लाभर कुमाल जातिको आठ हजार ७२७ जनसङ्ख्या रहेको कुमाल समाज नेपाल तनहुँले जनाएको छ ।