• १३ साउन २०८१, आइतबार

नयाँ गाउँबाट दुई करोड बढीको सुन्तला बिक्री

blog

धुर्कोट गुल्मीमा फलेको सुन्तला । तस्विर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, माघ २२ गते । गुल्मीको धुर्कोट गाउँपालिका–१, नयाँ गाउँबाट दुई करोड बढी रुपियाँको सुन्तला बिक्री भएको छ । स्थानीय कमला पोखरेलले यो वर्ष सबै सुन्तला घरबाटै बिक्री गरेको बताउनुभयो । 

गतवर्ष ८० हजारको सुन्तला बिक्री गर्नुभएकी उहाँले यो वर्ष पनि सोही रकमकै हाराहारीमा बिक्री गरेको बताउनुभयो । व्यापारीहरू सुन्तला लिन घरमै आउने भएकाले बजारको कुनै समस्या नभएको उहाँले बताउनुभयो । बारीमा तीनसय बोट छन्, केही साना बिरुवा पनि छन् । सुन्तला बिक्रीको रकमबाट घरमा चाहिने दैनिक उपभोग्य सामग्री किन्न सहयोग भएको बताउनुभयो ।

त्यस्तै, टीकाबहादुर हमालले विगत ३३ वर्षदेखि सुन्तला खेती गर्दै आउनुभएको छ । सुन्तला खेतीबाटै राम्रो आम्दानी गरेको उहाँले बताउनुभयो । गतवर्ष भन्दा यस वर्ष उत्पादन गटेको हुँदा छ लाख बराबरको बिक्री भएको उहाँले बताउनुभयो ।

गतवर्ष आठ लाखको सुन्तला बिक्री भएको थियो । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरूको प्रतिस्पर्धा छ । तर हमाल भने घरमै बसेर राम्रो आम्दानी गर्नुभएको छ । यो सुन्तला खेती पुर्ख्यौली पेसा भन्दै आफूले व्यवसायीकरण गरेको बताउनुभयो ।

कुल १२ रोपनी जग्गामा सुन्तला खेती गर्दै आउनुभएका हमालले अहिले २५ हजार बोटमा सुन्तला उत्पादन गर्नुभएको छ । थप ४० हजार बिरुवा नर्सरीमा रहेको उहाँले बताउनुभयो । सुन्तला बिक्रीको रकम घरखर्च चलाएर पनि बचत हुने उहाँले बताउनुभयो ।

यहाँका ८५० घरधुरीमध्ये ६०० परिवारले सुन्तला खेती गर्दैआएका छन् । सुन्तलाबाट सरदरमा मासिक एक लाखसम्म कमाउने कृषकहरू रहेको वडाध्यक्ष चेतमान कुँवरले बताउनुभयो । यहाँको सुन्तला स्थानीय बजारका साथै तम्घास, अर्घाखाँची, बुटवल, काठमाडौँलगायत विभिन्न स्थानमा निर्यात हुनेगरेको छ ।

जिल्लामा कुल एक हजार २७ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनयोग्य जग्गामध्ये यस वर्ष ६२३ हेक्टर क्षेत्रफलमा छ हजार ५७२.४ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

अहिले कुल सुन्तला बगैँचाको ६० प्रतिशत बोटहरू फलेका छन् । आर्थिक वर्ष २०७९–८० मा कृषक, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पालिकाको लगानीमा १३० हेक्टर क्षेत्रफलमा थप सुन्तला खेती विस्तार गरिएको छ । यस वर्ष जिल्लामा २३ करोडको सुन्तला उत्पादन भएको छ । जसमा १२ करोड ८४ लाखको सुन्तला जिल्लाभन्दा बाहिर निर्यात भएको उहाँले बताउनुभयो ।

जिल्लाका स्थानीय तहहरूले पनि सुन्तला खेती प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरेका छन् । धुर्कोट, रेसुङ्गा, मदानेलगायतका क्षेत्रमा सुन्तला खेतीका लागि चक्लाबन्दी कार्यक्रम नै सुरु गरिएको छ । सरकारले गुल्मीलाई  ‘सुन्तला जोन’ घोषणा गरेको छ ।