• १३ साउन २०८१, आइतबार

आयोजना सञ्चालन गर्न साझेदारीमा जानुपर्छ : नेतृ झाक्री

blog

पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव रामकुमारी झाँक्री । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, माघ २२ गते । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव रामकुमारी झाँक्रीले संसारभरि साझेदारीमा विमानस्थल, एयरलाइन्स, स्टक एक्सचेन्ज चलेको बताउँदै नेपालमा पनि त्यसरी नै जान सकिने बताउनुभएको छ । 

सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पुँजीवादी व्यवस्थामा बजारले धेरै कुरा निर्धारण गर्नेभएकाले विकासका लागि ठुला आयोजनामा साझेदारी मोडल आवश्यक रहेको बताउनुभयो । 

सबै ठाउँमा राज्यले हात हाल्दा पुँजी सङ्कुचित हुन्छ, बढ्दैन उहाँले भन्नुभयो, “साझेदारीमा जानु उपयुक्त हुन्छ ।” पूर्वमन्त्री समेत रहनुभएकी नेतृ झाँक्रीले पोखरा, लुम्बिनीजस्ता ठुला लगानीका भौतिक संरचनाबाट पाउँदा उठाउन साझेदारी मोडल आवश्यक रहेको चर्चा गर्नुभयो ।  

उहाँले फरक प्रसङ्गमा पत्रकारको मन्त्री, नेता, गाडी चढ्यो, के खायो भन्नेमा अलमलिनुभन्दा नागरिकको जीवनमा सकारात्मक प्रभाव पार्नेखालका समाचार लेखनमा लाग्न पनि आग्रह गर्नुभयो ।

कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडितलाई अहिलेसम्मका सबै सरकारले त्यही पुनर्स्थापना गर्छौँ भन्छन् त्यो सम्भव छैन, कि आरक्ष नै चाहिँदैन भन्नुपर्छ, उहाँले भन्नुभयो, “उनीहरूको आरक्षभित्र होइन, अन्यत्र कतै पुनर्स्थापना हुने वातावरणका लागि समाचार लेख्न जरुरी छ । पुनर्स्थापना नहुँदा बृद्धबृद्धा, बालबालिका, गर्भवतीलगायतले राज्यका सुविधा नपाएकोमा पनि उहाँले दुःख व्यक्त गर्नुभयो ।”

उहाँले कैलालीको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको काम पनि भनेजस्तो तरिकाले सञ्चालन नभएको बताउँदै त्यसको निर्माणका लागि पनि पत्रकारको कलम गतिलो रूपमा चलाउन जरुरी रहेको टिप्पणी गर्नुभयो । 

उहाँले सरकारका काम कारबाहीबारे गरिएको प्रश्नको जवाफ दिँदै सरकारका बारेमा सार्वजनिक रूपमा होइन, सरकारसँगै बसेर छलफल गर्ने बताउनुभयो । मन्त्रीमण्डल परिवर्तन बारेको अर्का प्रश्नमा उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले साझेदार दलसँग उपयुक्त व्यक्ति मागेर मन्त्रीमण्डल परिवर्तन गर्ने अधिकार रहेको तर कुनै मन्त्रीको तेजोबोध गर्न मिल्दैन, त्यस्तो परम्परा अन्त्य हुनुपर्छ ।” तपाई एमाले प्रवेश गर्ने चर्चा छ नि ? जिज्ञासामा उहाँले ती सबै हल्ला र अनुमान भएको बताउनुभयो ।