• १३ असोज २०८१, आइतबार

मुलुकलाई आवश्यक कानुन निर्माणमा केन्द्रित हुन जरुरी : सभामुख घिमिरे

blog

सोमबारबाट सुरु भएको प्रतिनिधि सभाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सभामुख देवराज घिमिरे। तस्बिर : केशब गुरुङ

काठमाडौं, माघ २२ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूले संसद्को चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्ने र संसदीय गतिविधिहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी रहेको बताउनुभएको छ ।

सोमबारबाट सुरु भएको प्रतिनिधि सभाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । सभामुख घिमिरेले राष्ट्रका साझा मुद्दाहरूमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई एकताबद्ध भएर अघि बढ्न पनि आग्रह गर्नुभयो । विगतका दुई अधिवेशनमा संसद् नियमावलीको निर्माण तथा विषयगत समितिहरूले पूर्णता पाएसँगै संसदीय गतिविधिहरू क्रियाशील र जीवन्त हुँदै गएको उल्लेख गर्दै उहाँले चालु अधिवेशन मुलुकका लागि आवश्यक कानुन निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

‘‘संसदीय प्रणालीमा संसद्को काम कानुन निर्माणसँगै सरकारको गठन र नियन्त्रण गर्ने, जनसरोकारका मुद्दाको सम्बोधन गर्ने, सरकारलाई नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कानुन बनाई सहयोग गर्ने पनि हो । विगतका दुई अधिवेशनमा संसद् नियमावलीको निर्माण तथा विषयगतसमितिहरुले पूर्णता पाएसँगैसंसदीय गतिविधिहरू क्रियाशील र जीवन्त हुँदै गएको महसुस गरेको छु । ऐन निर्माणमा सङ्ख्यात्मक नतिजा प्राप्त हुन नसके पनि एक वर्षको बिचमा पर्याप्त गृहकार्य भएका छन् ।,’’ सभामुख घिमिरेले भन्नुभयो, ‘‘चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्ने र संसदीय गतिविधिहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखेको छु । राष्ट्रका साझा मुद्दाहरूमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको एकतालाई निरन्तरता दिनैपर्दछ । विधिको शासन, पारदर्शिता र जबाफदेहिता आधुनिक लोकतन्त्रका आधारस्तम्भ हुन् । संसद्मा अवलम्बन गरिने विधि, प्रक्रिया र अभ्यासहरूलाई परिष्कृत, उन्नत र जनमुखी बनाउन हाम्रो सामूहिक प्रतिबद्धता जरुरी छ । संसद्लाई प्रभावकारी, क्रियाशील जीवन्त बनाउन चालु अधिवेशनदेखि केही नयाँ अभ्यास गर्दैछौं ।’’

सभामुख घिमिरेले जनताको प्रतिक्रिया र सुझावलाई आत्मासात गर्दै संसद्का चालु अधिवेशन नतिजामुखी हुने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले संसद्लाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन चालू अधिवेशनदेखि केही नयाँ अभ्यास तथा संसदीय गतिविधि समयबद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने पनि बताउनुभयो ।

सभामुख घिमिरेले लोकतन्त्रमा जनता सबैभन्दा माथि हुने भएकाले उनीहरूको भावनाअनुसार सबै राजनीतिक दलहरूले अघि बढ्नुपर्ने बताउनुभयो ।

‘‘संसदीय गतिविधि समयबद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने र विगतमा बजेटमाथिको छलफलमा उठेका टिप्पणी समेतलाई ध्यानमा राखेर यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दैछौं । संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधारले यस संस्थाप्रतिको विश्वास र भरोसा वृद्धि हुँदै जान्छ । किनभने लोकतन्त्रमा जनता सबैभन्दा माथि हुन्छन् । जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात् गर्दै आगामी अधिवेशन नतिजामुखी हुने विश्वास व्यक्त गर्दछु ।’’ उहाँले भन्नुभयो ।