• २८ पुस २०८१, आइतबार

लामालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश

blog

काठमाडौँ, माघ २२ गते । वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा लालबहादुर लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यहरु निशा बानियाँ, उद्धवप्रसाद पुडासैनीको इजलासले वैदेशिक रोजगार कसुर मुद्दामा स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टर प्रालिका निर्देशक लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । 

लामाविरुद्ध आङपासाङ शेर्पासमेत आठ सय ४५ जनाले तीन करोड ९३ लाख १४ हजार तीन सय ३३ र त्यसको ५० प्रतिशत हर्जनासमेत माग गरी उजुरी दिएका थिए । “प्रतिवादीबाट हुनसक्ने जोखिम विश्लेषण गर्दा हाल यी प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ६७ बमोजिम पूपक्र्षका लागि थुनामा राख्ने गरी यो आदेश गरिदिएको छ”, जारी आदेशमा भनिएको छ । 

लामाले न्यायाधिकरण समक्ष दिएको बयान, मिसिल संलग्न नगद बुझिएको रिसिप्ट र चेकसमेतका कागजात र यी प्रतिवादीको बैंक खातामा जाहेरवालाहरुले रकम बुझाएको देखिने बैंक भौचरसमेत प्रमाणका आधारमा तत्काल कसुरदार होइनन् भन्ने नदेखिएको आदेशमा उल्लेख छ । वैदेशिक रोजगार कसुरमा २०७९ साल पुस २४ मा आङपासाङ शेर्पा, हरिबहादुर थापासमेतले लामाले लिथुनिया, कोरिया, न्युजिल्याण्ड, क्यानाडासमेतका देशमा रोजगारीका लागि पढाउने भनी रकम लिई ठगी गरेको भन्दै उजुरी परेको थियो ।

लामालाई गत पुस १६ गते काठमाडौँको शङ्खमूलबाट पक्राउ गरिएको थियो । प्रहरीले लामाको तालिम सेन्टरबाट पीडितहरु नौ सय ३४ थान राहदानी बरामद गरेको थियो । लामाले बिगो बमोजिमको रकम फिर्ता गर्न आफू तयार रहेको बयान दिएका छन् । रासस