• १३ असोज २०८१, आइतबार

त्रिहत्तर बोरा अप्रशोधित गाँजासहित तीन पक्राउ

blog

प्रहरीले पक्राउ गरेको अवैध गाँजा । तस्विर : जिल्ला प्रहरी कार्यालय, काभ्रे

केदार तिमल्सिना 

बनेपा, माघ २२ गते । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ बाट ७३ बोरा अप्रशोधित अवैध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बनेपा–पनौती सडकखण्डमा सोमबार बिहान सवारी चेकजाँचमा खटिएको प्रहरीले विभिन्न साइजका ७३ बोरामा ल्याएको २८५ किलोग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा पनौतीबाट बनेपातर्फ आउँदैगरेको बा ६ च २९६ नम्बरको डिआइ गाडी चेकजाँच गर्नेक्रममा सो गाडीमा लोड गरी ल्याएको अप्रशोधित गाँजा प्लाष्टिकको विभिन्न साइजको ७३ बोरामा ल्याइएको बताउनुभयो । 

उहाँले उक्त डिआई गाडीमा ल्याइएको २८५ किलोग्राम गाँजासहित डिआई चालक नुवाकोट जिल्ला बिदुर नगरपालिका –११ घर भ  हाल काठमाडौं बालाजु डेरा गरी बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, रामेछाप नगरपालिका –८ घर भइ हाल काठमाडौं बालाजु डेरा गरी बस्ने २० वर्षीय सञ्जीव तामाङ र रामेछाप नगरपालिका –८ घर भइ हाल काठमाडौं बालाजु डेरा गरी बस्ने ५३ वर्षीया विमला तामाङलाई पक्राउ गरिएको बताउनुभयो । 

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । पक्राउ गरेका तीनै जना र तिनले प्रयोग गरेको गाडी इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा छ ।