• २८ पुस २०८१, आइतबार

प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकल कवाडी बन्दै

blog

बालुकुना प्रहरीले नियन्त्रणमा लिएर कवाडीमा परिणत हुन लागेका मोटरसाइकलहरू । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, माघ २१ गते । दक्षिणी हुम्लाको सर्केगार्ड गाउँपालिका-१ र ४ मा प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकलहरू कवाडीमा परिणत हुने अवस्थामा पुगेका छन् । नम्बर प्लेट नभएका र बिना लाइसेन्सका चालकले सञ्चालन गर्दै आएको ती मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएपछि लामो समयसम्म फिर्ता लिन कोही नआएपछि कवाडीमा परिणत हुन लागेका हुन् । 

अस्थायी प्रहरी चौकी बालुकुना तुम्चका प्रहरी सहायक निरीक्षक वीरबहादुर चन्दले मोटरसाइकलहरू प्रहरीले नियन्त्रणमा लिएको एक वर्षभन्दा बढी समय भएपछि कोही पनि लिन नआउँदा कवाडीमा परिणत हुन थालेको बताउनुभयो । उहाँले राख्ने ठाउँ नभएको कारण खुल्ला स्थानमा राखिएको र बर्खामा पानीले समेत क्षति पुर्‍याएको बताउनुभयो । 

बिना लाइसेन्स, बिना नम्बर प्लेटका मोटरसाइकल चलाएको पाइएपछि एक वर्ष अगाडी सलीसल्लादेखि बालुकुना, तुम्च क्षेत्रबाट छ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा लिएको थियो । मोटरसाइकल नियन्त्रण लिएपछि चालकहरूलाई आफूसँग भएको प्रमाण पेस गर्न र आफ्नो साधन लैजान पटक-पटक पत्राचार गर्दा पनि कोही लिन नआएको कारण हाल मोटरसाइकललाई सुरक्षित राख्न प्रहरीलाई समस्या भएको छ । उहाँले प्रमाण नै ल्याउन नसकेको कारण यी मोटरसाइकल चोरीका हुन सक्ने देखिएको बताउनुभयो।

नियन्त्रणमा लिइएका मोटर साइकलहरूले पठाओका रूपमा दक्षिणी क्षेत्रमा चर्को भाडा लिएर यात्रुहरू बोक्न प्रयोग गरिन्थ्यो । त्यसैगरी, प्रहरी चौकी सर्केगार्डमा प्रहरी नायव निरीक्षक परशुराम न्यौपानेले पनि सो क्षेत्रबाट आठ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको तर हालसम्म कोही पनि फिर्ता लिन नआएको कारण मोटर साइकलहरू जीर्ण अवस्थामा पुगेको बताउनुभयो । उहाँले सलीसल्लाबाट सर्केगार्ड हुँदै दुल्ली कुनासम्म यात्रु बोक्ने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो । उक्त प्रहरी चौकीले आठ वटा मोटर साइकलहरू नियन्त्रण लिएको छ । दुवै प्रहरी चौकीमा गरी हाल १४ वटा मोटरसाइकल कवाडीमा परिणत हुने अवस्थामा पुगेका छन् ।