• २८ पुस २०८१, आइतबार

देशभर हल्का वर्षा, सोमबार साँझदेखि मौसम सफा हुँदै जाने

blog

काठमाडौँ उपत्यकाको नयाँ सडकमा पानी परेपछि जोगिन यात्रुले छाता र रेनकोट प्रयोग गर्दै । तस्बिर : मनोजरत्न शाही

गोरखापत्र अनलाइन 

काठमाडौँ माघ २१ गते । अहिले देशका अधिकांश स्थानको मौसम बदली रही केही स्थानमा सामान्य वर्षा भएको छ । 

मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा सामान्य वर्षा भइरहेको छ भने बाँकी स्थानको मौसम सामान्यदेखि आंशिक बदली रहेको छ । 

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार देशको पश्चिमी क्षेत्रबाट पश्चिमी वायु पुनः सक्रिय भएसँगै मौसम बदलीसहित केही स्थानमा सामान्य वर्षा भएको हो । 

उहाँले भन्नुभयो,“देशको पश्चिम क्षेत्रबाट पश्चिमी वायु पुनः सक्रिय भएसँगै मौसम बदलीसँगै केही स्थानमा सामान्य पानी परेको छ । यो क्रम भोलिसम्म नै रहनेछ । ” (सोमबार) साँझबाट भने मौसममा सुधार आउने उहाँ बताउनुहुन्छ । 

पश्चिमी वायुको प्रभावका कारण गएरातिदेखि नै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात समेत भइरहेको मौसमविद् अधिकारीको भनाइ छ । 

उहाँका अनुसार राति  बागमती , गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ । 

पश्चिमी वायु पूर्वतर्फ सर्दै गएपनि कोशी र मधेश प्रदेशमा पानी पर्ने सम्भावना भने नरहेको उहाँको भनाइ छ ।