• २८ पुस २०८१, आइतबार

पर्यटन प्रवर्धन गर्न पदयात्रा

blog

पदयात्रामा सहभागीहरु । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, माघ २० गते । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जिल्लाका प्रमुखसहित शनिबार लालबन्दी नगरपालिका अन्तर्गत पर्ने नारायण डाँडादेखि कालिन्जोर खोलासम्म पदयात्रा (हाइकिङ्ग) गरिएको छ । 

लालबन्दी नगरपालिकाको आयोजनामा चुरे क्षेत्रस्थित वडा १३ नारायणडाँडा भ्यू टावरदेखि कर्मडण्डी, बाहुनीडाँडा, अर्नेडाँडा हुँदै वडा १५ माथिल्लो चिसापानीस्थित कालिन्जोर खोलासम्म पहिलो पटक “पर्यटन प्रवद्र्धन–पदयात्रा” गरिएको हो । करिव १५ किलोमिटर चुरेडाँडाको ट्रयाक बाटोमा जनप्रतिनिधि, सुरक्षा अधिकारी, राजनीतिज्ञ, व्यवसायी, सञ्चारकर्मी र स्थानीय वासिन्दाले पदयात्रा गरेका हुन् । 

प्राकृतिक रुपमा सुन्दर र पर्यटकीय क्षेत्रको सम्भावना बोकेको पदमार्गको प्रवद्र्धन तथा त्यसको स्थिति बुझ्ने उद्देश्यले पदयात्रा गरिएको लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीले जानकारी दिनुभयो । पदयात्रामा प्रदेशसभा सदस्य बेची लुङ्गेली, पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंह, नगरप्रमुख अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, चारवटै सुरक्षा निकायका प्रमुख सहभागी हुनुहुन्थ्यो । 

माघ १२ गते सम्पन्न एघारौँ नगरसभाको निर्णय बमोजिम पर्यटन प्रवद्र्धन–पदयात्रा गरिएको लालबन्दी नगरपालिकाले जनाएको छ । सुगम मानिने लालबन्दी नगरपालिका अन्तर्गतको दुर्गम चुरेक्षेत्र आसपास बस्ने नागरिक सामान्य आधारभूत सेवा (बाटो, पानी, बिजुली लगायत) बाट बञ्चित रहनु परेकाले सेवा क्षेत्रको विकासमा टेवा पुगोस् भन्ने हेतुले पदयात्रा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले बताउनुभयो ।

पदयात्रामा सहभागी प्रमुख जिल्ला अधिकारी धमलाले चुरक्षेत्रको संरक्षणसहित पदमार्गको रुपमा विकास भएको त्यस क्षेत्रमा स्थानीय सँस्कृतिसँग जोडेर होमस्टे (घरबास) सञ्चालन गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।