• २८ पुस २०८१, आइतबार

विवाह भोजमा हुने खर्चबाट बुद्धको मूर्ति स्थापना

blog

बुद्धको मूर्तिको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँ अनावरण गर्नुहुँदै । तस्विरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, माघ १८ गते । मकवानपुरका क्रियाशील सञ्चारकर्मी प्रताप विष्टले आफ्नो छोराको विवाह भोजमा लाग्ने खर्चबाट बुद्धको मूर्ति स्थापना गर्नुभएको छ । 

समाजमा विवाह, व्रतबन्धलगायतका शुभ कार्यका नाममा फजुल खर्च गर्ने प्रवृत्ति बढ्दै गएको समयमा पत्रकार विष्टले छोराको विवाह भोजमा लाग्ने खर्चबाट हेटौँडा उपमहानगरपालिका ९ स्थित त्रिवेणीधाममा बुद्धको मूर्ति स्थापना गर्नुभएको हो । 

त्रिवेणीधाम परिसरमा बुद्ध मूर्ति स्थापनामा १२ लाख रुपियाँभन्दा बढी लागेको बिहीबार बुद्ध मूर्ति अनावरण कार्यक्रममा जानकारी गराइएको थियो । 

बुद्ध मूर्तिको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले संयुक्तरुपमा अनावरण गर्नुभएको थियो । 

नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका पूर्व अध्यक्षसमेत रहनुभएका विष्टले समाजमा परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्ने सन्देश दिन आफ्नो जेठो छोरा र कान्छो छोरा दुवैको विवाहमा भोज भतेर गर्ने परम्परालाई तोड्दै उक्त रकम सकारात्मक कार्यमा लगाएको जानकारी दिनुभयो । 

पत्रकार विष्टले यसअघि जेठो छोराको विवाहमा समेत विवाह भोजमा हुने खर्च पाँच लाख रुपियाँ हेटौँडा ९ स्थित मानव सेवा आश्रमको भवन निर्माणमा सहयोग गर्नुभएको थियो । साथै विष्टले नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाको पुस्तकालयका लागि एक लाख रुपियाँ प्रदान गर्नुभएको थियो । 

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, शिक्षासेवी देवप्रसाद श्रेष्ठलगायतले फजुल खर्चले भ्रष्टाचार बढ्ने भन्दै समाजका अगुवाहरुले उदाहरणीय बनेर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

छोरा डा. घोषणा विष्ट र सुजता कार्कीबिचको विवाहको अवसरमा पत्रकार विष्टले आफन्तलगायतका सीमित व्यक्तिलाई आमन्त्रण गरी भव्य भोजकोसट्टा त्रिवेणीधाम परिसरमा फापरको जेरी, तरकारी र पुरीको व्यवस्था गर्नुभएको थियो ।