• १३ साउन २०८१, आइतबार

उपभोग्य वस्तुको लेभलिङ स्पष्ट रूपमा हुनुपर्छ: मन्त्री रिजाल

blog

सोमबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उपस्थितहरु । तस्बिर :गोरखापत्र

काठमाडौं, माघ १५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोग्य वस्तुहरूको लेभलिङ स्पष्ट रूपमा हुनुपर्ने बताउनुभएको छ । सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सांसदहरूसँगको छलफलका क्रममा बोल्नुहुँदै मन्त्री रिजालले यस्तो बताउनुभएको हो ।

उहाँले उपभोग्य वस्तुहरूको ब्राण्डिङ र लेभलिङ स्पष्ट रूपमा हुनुपर्ने बताउनुभयो । वस्तुहरूको म्याद नाघ्ने मिति ठुल्ठुला अक्षरमा स्पष्ट रूपमा हुनुपर्ने बताउनु भयो । उहाँले बजार अनुगमनमा स्थानीय तहको सहभागिता हुने भन्दै सजायको सन्दर्भमा पनि स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र रहेर सजायको मात्रा तोक्दा राम्रो हुने धारणा राख्नुभयो । उहाँले साना स्तरका घुम्ती व्यवसायहरू स्थानीय तहले गर्दा गर्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘साना स्तरमा घुम्ती व्यवसायहरू स्थानीय तहले दर्ता गर्दछ । दर्ता पनि भइरहेका छन् । बजार अनुगमनको विषयमा स्थानीय तह पनि भएको कारणले सजायको विषय पनि स्थानीय तहले आफ्नो लेभल जति छ गर्नुपर्ने उहाँहरूले नै सजायको लेभल तोकिदिए राम्रो हुन्छ । वस्तुहरूको लेभलिङको विषय, ब्राण्डिङको विषय यहाँहरूले उठाउनुपर्छ । त्यो हुनुपर्छ भन्ने मेरो मान्यता हो । हाम्रो मन्त्रालयको मान्यता हो । स्पष्ट रूपमा लेभलिङ हुनुपर्छ । र डेट अफ स्पाइरीको पनि स्पष्ट उल्लेख हुनुपर्छ । ठुल्ठुला अक्षरमा भएपनि मान्छेले पढ्न सक्नेगरी हुनुपर्छ भन्ने मलाई पनि लागेको छ ।’’

मन्त्री रिजालले उद्योग दर्ता, खाद्य प्रशोधन, बजार अनुगमन र उत्पादित वस्तुहरूको गुणस्तर नियमनको विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका बिचमा समन्वय हुन आवश्यक रहेको बताउनुभयो ।