• ६ जेठ २०८१, आइतबार

तेस्रो किसिमका कवि (कविता)

blog

शक्तिशाली कविहरू जन्मे यो धरतीमा

शक्तिशाली सम्राट्हरू जन्मेसँगै

भगवान्को भजनसँगै ती सम्राट्हरूको पनि 

भजन गाउँदै गाउँदै ।

प्रतिस्पर्धा नै हुन्थ्यो कविहरूको

भजन गाउनमा

राग अलाप्नमा

सुर मिलाउनमा ।

त्यसपछि, दोस्रो किसिमका कवि जन्मे

शासकहरूको शोषणको विरोधमा

क्रान्तिकारी गीत गाउँदै

क्रान्तिका लागि जनता उचाल्दै ।

क्रान्तिको सफलतासँगै 

क्रान्तिकारी कविहरूले पाए

मान/सम्मान/पुरस्कार/पदवी/पद/जागिर

अनेक अनेक !

अनि ती कविमा नयाँ हर्मोन उत्पन्न भयो

तिनै जागीरे कविहरू

आजको तेस्रो किसिमका कवि हुन् !

धन्य कवि ! विचरा कविता !