• १३ असोज २०८१, आइतबार

किबोर्डले मिलाएको सम्बन्ध

blog

काठमाडौँ, माघ १३ गते । लघुचलचित्र ‘किबोर्ड’ र बालकथासङ्ग्रह ‘स्वर्गमा मोबाइल’ विमोचन गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबिच ‘किबोर्ड’ र ‘स्वर्गमा मोबाइल’ विमोचन गरिएको हो । 

श्रीमान् श्रीमतीबिच हुने मनमुटावले बालबालिकामा आउने समस्याको कथा ‘किबोर्ड’ मा समेटिएको छ; जुन एउटा प्रतीकात्मक कथाका रूपमा सुरु भएको छ । सुरुदेखि अन्त्यसम्म ‘किबोर्ड’ भित्रै कथा रुमलिएको छ । घरपरिवारमा आमाबुवाबिचको असमझदारी र द्वन्द्वले बालबालिकामा कस्तो असर पार्छ भन्ने कुरा पनि लघुचलचित्रमा देखाउन खोजिएको छ । चलचित्रमा कृष्णभक्त महर्जन, रश्मि भट्ट र बालकलाकार आलोक चौरेलीको मुख्य भूमिका छ । आचार्य गोपालले निर्देशन गर्नुभएको चलचित्र सन्देश आचार्यले निर्माण गर्नुभएको हो । विजयराज आचार्यको कथा रहेको चलचित्रमा टेकेन्द्र नेपालीले सङ्गीत दिनुभएको छ । 

‘स्वर्गमा मोबाइल’ श्राद्ध गर्ने बेला बितेका मान्छेलाई पिण्ड दिने चलन रहेको र त्यही समय एउटा बालकले यो केको डल्लो हो भनेर सोधेको विषय समेटिएको छ । सो डल्लो माथि पठाउन बनाइएको हो भन्ने उत्तर पाएपछि उनले योसँगै मोबाइल पनि पठाऊँ मलाई एकदमै न्यास्रो लागेको छ भन्ने कुरालाई कथासङ्ग्रहमा उतारिएको लेखक विजयराज आचार्यले बताउनुभयो । सङ्ग्रहभित्र छ वटा कथा समावेश छन् । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सूर्य थापा, बालसाहित्यकार प्राडा शैलेन्द्रकुमार नेपाल, रामबाबु सुवेदी, नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानलगायतले मन्तव्य राख्नुभएको थियो ।