• १३ साउन २०८१, आइतबार

मधेश प्रदेशमा गठबन्धन विजयी

blog

आनन्दप्रसाद ढुङ्गाना र महिलातर्फ विजयी पुजा चौधरी ।

विजयकुमार साह 

ढल्केवर, माघ ११ गते । मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिनुभएका (खुला) बाट आनन्दप्रसाद ढुङ्गाना र महिलातर्फबाट पूजा चौधरी निर्वाचित हुनुभएको छ । 

ढुङ्गानाले सात हजार ३७० मतभार र चौधरीले सात हजार ९२३ मतभार ल्याएर विजयी भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण राउतले बताउनुभयो । उहाँका अनुसार अन्य समूहबाट नेकपा एमालेका विजेता चौधरीले दुई हजार ४८४ र जनमत पार्टीका रामाशङ्कर महासेठले ८१८ मतभार प्राप्त गर्नुभएको छ । 

यसैगरी महिलातर्फ चौधरीको निकटतम प्रतिद्वन्द्वी एमालेका उषादेवी थरुनीले दुई हजार ४४६ मतभार प्राप्त गर्नुभएको छ । जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको मतदान निर्धारित समय ३:०० बजे सकिएको थियो । मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो । 

बन्दको अवज्ञा गर्दै श्रीमतीद्वारा मतदान

राष्ट्रिय सभा चुनावलाई लक्षित गरी प्रभु साह नेतृत्वको आम जनता पार्टीले बिहीबार मधेश प्रदेश बन्दको आह्वान गरेको थियो । सो बन्द आह्वान अवज्ञा गर्दै साहको श्रीमती रौतहट मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साहले जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा मतदान गर्नुभएको छ । 

आजपका कार्यकर्ताले बिहीबार बिहानैदेखि जनकपुरधाममा प्रदर्शन गर्दै यातायात बन्द गराउने प्रयास गरेका थिए । धनुषा प्रहरीले बन्द गराउँदै हिँडेका २३ कार्यकर्ता पक्राउ परेका छन् ।