• २२ वैशाख २०८१, शनिबार

मनरुपा शर्मा : पाँचौँ प्रयासमा माननीय

blog

मनरुपा शर्मा

फडिन्द्र अधिकारी

लेखनाथ, माघ ११ गते। पर्वतको कुश्मा नगरपालिका वडा नं. १० की मनरुपा शर्मा (विमला) राष्ट्रिय सभा सदस्य बन्नुभएको छ।तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र विद्रोहमा आफैँ सहभागी शर्माका श्रीमान् द्वन्द्वकै क्रममा सरकारी पक्षबाट मारिनुभएको थियो ।

माओवादी शान्ति प्रक्रियामा आएको करिब दुई दशकपछि शर्मा सांसद बन्नुभएको हो।शर्माले तीन हजार छ सय ६० मत पाउनुभएको छ।उहाँकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार सम्झना देवकोटाले दुई हजार पाँच सय ५३ मत पाउनुभएको छ।राप्रपाबाट उम्मेदवार बन्नुभएकी गौमाया श्रेष्ठले एक सय छ मत पाउनुभएको छ।प्रदेशसभातर्फ एक र स्थानीय तहतर्फ एक मत गरी दुई मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

शर्मा पाँचौँ प्रयासमा माननीय चुनिनुभएको हो।०६४ सालमा पहिलो संविधानसभा सदस्य उम्मेदवार उहाँ थोरै मतले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीसँग पराजित हुनुभएको थियो ।

अहिले उहाँ कांग्रेससहितको मतबाट सांसद बन्नुभएको हो।त्यसयताका हरेक चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा परे पनि उहाँलाई सांसद बन्ने अवसर मिलेको थिएन।पहिलो पटक उम्मेदवार बनेको १६ वर्षपछि उहाँ माननीय बन्नुभएको हो।

गण्डकी प्रदेशबाट निर्वाचित हुने तीन राष्ट्रियसभा सदस्यमध्ये सत्ता गठबन्धनबिच भएको सहमति अनुसार माओवादी केन्द्रले उहाँलाई महिला ‘कलस्टर’बाट उम्मेदवार बनाएको हो।४३ वर्षीया शर्मा यसअघि अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको जिल्ला अध्यक्ष हुँदै पार्टीको जिल्ला तहको नेतृत्वमा आउनुभएको हो।

वि.सं २०६० देखि पार्टी र सङ्गठनका विभिन्न जिम्मेवारी सम्हाल्दै उहाँ हाल माओवादी केन्द्र पर्वत जिल्ला संयोजक हुनुहुन्छ।उहाँ भन्नुहुन्छ, “पार्टीले मलाई वास्तवमै न्याय गरेको अनुभूति भएको छ, आज म धेरै नै खुसी छ।अब राष्ट्रियसभामा गए भने देश र जनताको हितमा काम गर्छु।म र मेरो वर्गलाई प्राथमिकता दिने कुरा त छँदै छ ।”

उहाँका पति विजय सुवेदी ‘विकास’को जनयुद्धका क्रममा विसं २०६१ मङ्सिर १७ गते हत्या भएको थियो।सुवेदी माओवादीको सांस्कृतिक फाँटमा क्रियाशील हुनुहुन्थ्यो।

गएको आमनिर्वाचनमा शर्मा समानुपातिकबाट गण्डकी प्रदेशसभा सदस्य बन्ने चर्चा चले पनि पार्टीले अर्को जिल्लाबाट महिला उम्मेदवारलाई छनोट गरेको थियो।पटक पटकको प्रयासका बाबजुद संसदीय यात्रा तय गर्न नसके पनि उहाँ निराश हुनुभएन।पार्टीले दिएको जिम्मेवारीमा सधैँ सक्रिय हुनुहुन्थ्यो।

आफूलाई मत दिने र बाँकी सबै मतदातालाई धन्यवाद दिँदै उहाँ जनताको आकाङ्क्षा सम्बोधन गर्ने गरी काममा लाग्ने प्रतिबद्धता गर्नुहुन्छ।उहाँको वाचा छ, “म जुन वर्ग, समुदायबाट आएकी छु, त्यही वर्गका सरोकारका मुद्दा त उडाउनेछु नै।महिला, दलित, जनजाति, सहिद परिवारको पीडा उठाउँदै ती पीडा सम्बोधन गर्ने जति सक्छु प्रयास गर्ने छु ।”