• २२ वैशाख २०८१, शनिबार

गण्डकीमा राष्ट्रिय सभा निर्वाचन : ढोरपाटनका प्रमुखबाहेक सबैले गरे मतदान

blog

रमेश पौडेल/फडिन्द्र अधिकारी

पोखरा, माघ ११ गते। गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सकिएको छ। प्रदेशमा दुई सय २९ जनाले मतदान गर्नुभएको छ। बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवबहादुर नेपालबाहेक सबैले मतदान गर्नुभएको हो।

एमालेबाट निर्वाचित प्रमुख नेपाली सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन हुनुहुन्छ। बिहीबार बिहान ९ बजेबाट जारी मतदानमा दिउँसो २ बजे नै नेपालीबाहेक सबैले मतदान गरिसकेका थिए। प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले मतदान सकिएको जनाउँदै मत परिणाम बिहीबारै आउने जानकारी दिनुभयो।

पहिलो मतदाताका रूपमा स्थानीय तहतर्फ पोखरा महानगरका प्रमुख धनराज आचार्य र प्रदेशसभातर्फ कास्कीका प्रदेशसभा सदस्य भीमबहादुर कार्कीले मतदान गर्नुभएको थियो। गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गतातर्फ पदम परियार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा सुवेदी उम्मेदवार हुनुहुन्छ। 

एमालेबाट महिलातर्फ सम्झना देवकोटा, अन्यतर्फ चक्रबहादुर पराजुली र अपाङ्गतर्फ हेमन्त शेरचन चुनावी मैदानमा आउनुभएको छ। राप्रपाबाट अन्यतर्फ रोमबहादुर भण्डारी र महिलातर्फ गौमाया श्रेष्ठ चुनावी मैदानमा हुनुहुन्छ। गण्डकीमा कुल दुई सय तीस मतदाता छन्। 

राष्ट्रिय सभाका अध्यक्षसमेत रहनुभएका गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रियसभा सदस्य दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लाग्दा निर्वाचन भएको हो। अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट तथा पन्थ कांग्रेसबाट निर्वाचित हुनुभएको थियो।

अहिले गण्डकीमा एमालेको कुल मतभार दुई हजार चार सय ५८ छ भने सत्ता गठबन्धनको मतभार तीन हजार आठ सय २७ छ।