• २२ वैशाख २०८१, शनिबार

कोशीमा स्थानीय तहका तीन जना मतदानमा अनुपस्थित

blog

शशिधर पराजुली 

विराटनगर, माघ ११ गते । कोशी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा तीन जना जनप्रतिनिधि अनुपस्थित भएका छन् । 

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ मतदानमा अनुपस्थित हुनुभएको हो । 

झापा गाउँपालिकाका अध्यक्ष साह भ्रष्टाचार मुद्दामा फरार हुनुभएका कारण मतदानमा सहभागी हुनुभएन भने मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष गच्छदार बुधबार राति अचानक बेहोस हुनुभएका कारण अस्पताल भर्ना हुनुभएको छ । 

उहाँलाई विराटनगरस्थित नोबेल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिरहेका कारण मतदानमा सहभागी हुन असमर्थ हुनुभएको हो  । यसैगरी धरानका मेयर साम्पाङले कार्यव्यस्तताका कारण मतदानमा भाग लिन नसकेको प्रतिक्रिया दिनुभएको छ । 

दिउँसो ३ बजे सम्पन्न भएको निर्वाचनको मतगणना केही समयपछि सुरु हुने सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।