• १३ साउन २०८१, आइतबार

राष्ट्रिय सभा निर्वाचन

लुम्बिनीमा दुई मत खसेन : एक बिरामी, अर्कोलाई मतदान नै थाहा भएन !

blog

घोराही उपमहानगरपालिका १५ कर्मचारी मिलन केन्द्रमा रहेको मतदानस्थल । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, माघ ११ गते । राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सय तीन मत मात्रै खसेको छ । लुम्बिनी प्रदेशमा रहेको तीन सय पाँच मतमध्ये निर्वाचनमा तीन सय तीन मत मात्रै खसेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ । 

सूचना अधिकारी कुँवरका अनुसार प्रदेश सभाअन्तर्गत ८७ जनाले नै मतदान गरे पनि स्थानीय तहतर्फ दुई सय १६ जनाले मात्रै मतदान गर्नुभएको छ । 

स्थानीय तहतर्फ बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय निर्वाचनमा सहभागी हुन नसकेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कुँवरले जानकारी दिनुभयो । 

उहाँका अनुसार निर्वाचनमा मतदान गर्ने समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मलाई निर्धारण गरेपनि उहाँहरूले आफूहरू आउन नसक्ने जानकारी गराएपछि मतदान सकिएको जानकारी दिनुभएको छ । 

सूचना अधिकारी कुँवरले भन्नुभयो, ‘‘निर्वाचनमा मतदानका लागि दिउँसो ३ बजेसम्मलाई समय तोकिए पनि उहाँले उपस्थित हुन नसक्ने जानकारी गराएपछि मतदानको कार्य सकिएको छ ।’’ मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय बिरामी भएर उपस्थित हुन सक्नु भएन ।  नरैनापुर गाउँपालिका उपाध्यक्ष   जयन्तीदेवी श्रीवास्तवले भने आफूलाई निर्वाचनको समय थाहा नभएका कारण निर्वाचनमा सहभागी हुन नसकेको जानकारी गराएको सूचना अधिकारी कुँवरले बताउनुभयो । 

मतदान सकिएपछि मतगणनाको तयारी भइरहेको उहाँको भनाइ छ । लुम्बिनी प्रदेशमा अन्यतर्फ एक जना र महिला सिटतर्फ एक जना गरेर दुई सिटका लागि ६ जना उम्मेदवार रहेका छन् । 

गठबन्धनको तर्फबाट महिला कोटामा नेपाली कांग्रेसबाट  विष्णुदेवी सापकोटा, एमालेबाट तुलसा केसी र राप्रपाबाट विजयालक्ष्मी सिंह र अन्य कोटामा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का झक्कुप्रसाद सुवेदी, नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बालगोविन्द चौधरी उम्मेदवार हुनुहुन्छ ।