• १३ साउन २०८१, आइतबार

लुम्बिनीमा ९७ प्रतिशत मतदान

blog

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी । तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, माघ ११ गते ।
लुम्बिनी प्रदेशमा ९७ प्रतिशत मतदान भएको छ । लुम्बिनी प्रदेशअन्तर्गत दुई सिटका लागि भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा बिहीबार दिउँसो १ बजेसम्म ९७ प्रतिशत मत खसेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

घोराही उपमहानगरपालिका–१५ कर्मचारी मिलन केन्द्रमा भएको मतदान केन्द्रमा ८५ जना प्रदेशसभा सदस्य र दुई सय १० जना स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले मतदान गरिसक्नुभएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ । उहाँका अनुसार मतदानका लागि अब प्रदेशसभा सदस्य  दुई जना र स्थानीय तहअन्तर्गत १० जना मतदातामात्रै बाँकी रहनुभएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्ती, अर्थमन्त्री धनबहादुर मास्कीलगायतकाले मतदान गर्नुभएको जानकारी दिनुभएको छ । लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य र दुई सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी तीन सय पाँच जना मतदाता रहनुभएको छ । निर्वाचनका लागि मतदान गर्ने समय बिहान ९ देखि दिउँसो ३ बजेसम्मलाई तोकिएको छ ।

लुम्बिनी प्रदेशमा अन्यतर्फ एक जना र महिला सिटतर्फ एक जना गरी दुई सिटका लागि ६ जना उम्मेदवार छन् । गठबन्धनका तर्फबाट महिला कोटामा नेपाली कांग्रेसबाट  विष्णुदेवी सापकोटा, नेकपा (एमाले) बाट तुलसा केसी र राप्रपाबाट विजयालक्ष्मी सिह र अन्य कोटामा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का झक्कुप्रसाद सुवेदी, नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बालगोविन्द चौधरी उम्मेदवार रहनुभएको छ ।