• १६ भदौ २०८१, आइतबार

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना अभियान सञ्चालन

blog

बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका अन्तर्गतको हुलाकी सडक ।

सिराज खान 

नेपालगन्ज, माघ ८ गते । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका अन्तर्गत नयाँ निर्माण भएको हुलाकी सडकमा सवारी दुर्घटना बढ्न थालेकाे छ । सो सडकमा दुर्घटना बढ्दै गएपछि सर्वसाधारणमा सचेतना फैलाउन ट्राफिक सचेतना अभियान सुरु गरिएको हो । 

राप्तीसोनारी गाउँपालिका, इलाका प्रहरी कार्यालय बैजापुर धामपुर र स्थानीय रेडियो भूवर भवानीको संयुक्त प्रयासमा ट्राफिक सचेतना अभियान सुरु गरिएको हो । दुर्घटना न्यूनीकरणका लागि सुरु गरिएको सचेतना अभियान अन्तर्गत रेडियोबाट जिङ्गल प्रशारण र सडक क्षेत्रमा माईकिङ गरेर ट्राफिक जनचेतना फैलाउने काम गरिएको इलाका प्रहरी कार्यालय बैजापुर धामपुरका प्रहरी इन्चार्ज वरिष्ठ सई लोकेन्द्रसिंह कार्कीले बताउनुभयो । उहाँले सो सडकमा आवागमन गर्ने सर्वसाधारणलाई ट्राफिक सचेतनासम्बन्धी जानकारी दिने काम भइरहेको जनाउँदै ट्राफिक नियम विपरित सवारी साधन चलाउँदा केही समययता दुर्घटना बढेको बताउनुभयो । 

रेडियो भूवर भवानीका कार्यकारी प्रमुख अर्जुन ओलीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि प्रहरीसँग सहकार्य गरेर ट्राफिक सचेतना फैलाउने कार्य गरिरहेको बताउनुभयो । उहाँले रेडियोले दैनिक रुपमा आफ्नो तर्फबाट दुर्घटना रोक्ने सचेतनामूलक जिङ्गल प्रसारण गरिरहेको र ट्राफिक नियम पालना गर्नुपर्नेमा सर्वसाधारणलाई जानकारी गराइरहेको बताउनुभयो । 

राप्तीपारी हुलाकी सडकको निर्माणकार्य सम्पन्न भएपछि सो क्षेत्रका वासिन्दालाई आवागमन गर्न धेरै नै सहज भएको छ, तर सो क्षेत्रका जनताले ट्राफिक नियम पालना नगर्दा र सवारी चलाउनेहरुले पनि बेवास्ता गर्दा दैनिकजसो दुर्घटना भइरहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय बैजापुर धामपुरका अनुसार हुलाकी सडकमा दैनिक रुपमा साना–ठुला सवारी दुर्घटना हुन थालेपछि मोटरसाइकल, गाडी जस्ता सवारी साधन चलाउने चालक, साइकल र पैदल यात्रीलाई समेत ट्राफिक नियम पालना गर्नुपर्ने बारेमा सचेत पार्ने कार्य भइरहेको छ ।