• १६ भदौ २०८१, आइतबार

राष्ट्रिय विभूति घोषणा गर्न माग

blog

बुटवल समाचारदाता

बुटवल, माघ ८ गते । नेपाल अङ्ग्रेज युद्धका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्न बुटवल उपमहानगरले माग गरेको छ । नेपाल अङ्ग्रेज युद्धका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्न बुटवल उपमहानगरपालिकाले सङ्घीय सरकारसँग औपचारिक रूपमै अनुरोध गरेको हो ।

बुटवलको जितगढी किल्लामा विसं १८७२ वैशाख ७ गते कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली फौजले तत्कालीन इस्ट इन्डिया कम्पनीलाई पराजित गर्न सफल भएको थियो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उजिरसिंह थापाको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्न र पूर्णकदको फोटोसहित ऐतिहासिक जितगढीको फोटो अङ्कित हुलाक टिकट जारी गर्न सङ्घ सरकारसँग माग गर्नुभयो ।

उहाँले किल्ला र किल्ला आसपासको क्षेत्रको पर्याप्त उत्खनन गरी थप तथ्य पत्ता लगाउन  पुरातत्व विभागको समेत ध्यानाकर्षण गर्नुभएको छ । प्रमुख पाण्डेले जितगढी किल्लासँगै रहेको सुरुङमार्ग, मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार र अन्य संरचनाको उत्खननपश्चात् आवश्यकता अनुसार पुनर्निर्माण र संरक्षणका लागि सङ्घ सरकारसँग माग गरेको बताउनुभयो । 

उहाँले जितगढी किल्ला नेपाली सेनाले गत पुस २० गते औपचारिक कार्यक्रम गरेरै बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेकोले अब जितगढी किल्लालाई युद्ध सङ्ग्रहालय, मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार, नुवाकोटगढी, पाल्पा तानसेनको भगवतीजात्रासँग जोडेर पर्यटकीय स्थल र नेपाल अङ्ग्रेज युद्धको अध्ययनस्थलका रूपमा विकास गर्ने बताउनुभयो । 

नेपाल–अङ्ग्रेज युद्धमा नेपालले जित हासिल गरेको जितगढी किल्ला संरक्षण र पुनर्निर्माणपश्चात् नेपाली सेनाले गत पुस २० गते बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । नेपाली सेनाको गरुड दल गणले संरक्षण र पुनर्निर्माण गरेको बुटवलको जितगढी किल्लाको संरक्षण, प्रवर्धन र सञ्चालन अब बुटवल उपमहानगरपालिकाले गर्ने छ ।

इतिहास तथा संस्कृतिविद् निर्मल श्रेष्ठले बुटवलको जितगढी किल्लाको संरक्षण गर्नेतर्फ सङ्घीय, प्रदेश र स्थानीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले जितगढी किल्लाबाट अङ्ग्रेजलाई परास्त नगरेको भए अहिलेको बुटवलको अस्तित्व यही अवस्थामा नरहन सक्थ्यो भन्दै कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्न आग्रह गर्नुभयो । 

लेखक महेन्द्र थापाले जितगढी किल्लामा उजिरसिंह थापाको नेतृत्वको नेपाली फौजले बहादुरीका साथ अङ्ग्रेज फौजलाई पराजित गरेकोले कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गराउन बुटवलवासीले सरकारलाई दबाब दिनुपर्ने बताउनुभयो । बुटवल नगरपालिका–१ मा पर्ने यो जितगढी किल्ला तिनाउ पुलको वारि बायाँ किनारमा रहेको छ । जितगढीमा नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको दिनको खुसियालीमा बुटवल उपमहानगरपालिकाले हरेक वर्ष फागुन ७ गते विजयोत्सव मनाउँदै आएको छ ।