• १६ भदौ २०८१, आइतबार

जनप्रतिनिधिको बहिष्कारले गाउँसभा स्थगित

blog

गाउँसभा बहिस्कार गर्ने जनप्रतिनिधिहरु । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, माघ ५ गते । बाँकेको डुडुवा गाउँपालिकाका बहुमत सदस्यले हिउँदे गाउँसभा बहिस्कार गरेका छन् । डुडुवा गाउँपालिकाको हिउँदे गाउँसभाका लागि अध्यक्ष नरेन्द्रकुमार चौधरीले मनोमानी गरेको भन्दै नेकपा (एमाले), जसपा र नेपाली काँगे्रसबाट निर्वाचित १८ जना जनप्रतिनिधि सदस्यले सभा बहिस्कार गरेपछि गाउँसभा स्थगित भएको छ । 

डुडुवा गाउँपालिकाको अध्यक्ष पदमा दोस्रो पटक निर्वाचत हुनुभएका चौधरीले यसअघिका गाउँसभा र कार्यपालिका बैठकमा उपस्थित सदस्यलाई जानकारी नदिनेदेखि निर्णय नै नलेखिएको सादा पानामा हस्ताक्षर गराउने गरेकोे वडा ५ का वडा अध्यक्ष मोहनराम मिश्रले बताउनुभयो । 

उहाँले निर्वाचित भएको झण्डै दुई बर्ष पुग्नैलाग्दा पनि अध्यक्षले योजना बाँडफाँडमा बिभेद गर्दैआएकाले आफूहरु गाउँसभा वहिस्कार गर्न बाध्य भएको बताउनुभयो । मिश्रका अनुसार गाउँपालिका अध्यक्ष चौधरीले सादा पानामा हस्ताक्षर गराउनेदेखि योजना र खर्चको बिबरण उपलब्ध नगराएको उहाँहरुको आरोप छ ।  

कुनै पनि बजेटको आयब्यय पारदर्शी नरहेको, खाजा, इन्धन, बिद्यालयको दिवाखाजा, कर्मचारी भर्नालगायतका बिषयमा भ्रष्टाचार गर्दैआएकाले आगामी दिनमा सुधार नहुँदासम्म पालिकामा हुने कुनै पनि बैठक, सभामा सहभागी नहुने बहिस्कार गरेका जनप्रतिनिधिले बताएका छन् । 

कार्यपालिका बैठक र गाउँसभासम्बन्धि आफूहरुलाई पूर्व सूचना समेत नदिएर अध्यक्षले गाउँसभा गर्न खोजेकोप्रति आफूहरुको आपत्ति रहेको वडा ६ का वडा अध्यक्ष झकबहादुर थापाले बताउनुभयो । 

गाउँसभा बहिस्कार गर्नेमा वडा ५ र ६ का वडा अध्यक्ष, ५ जना कार्यपालिका सदस्य र १० जना वडा सदस्य रहनुभएको छ । उहाँहरुले रजिस्टरमा माइनट लेखेर हस्ताक्षरसहित गाउँसभा बहिस्कार गरेको जानकारी गाउँपालिकालाई दिनुभएको थियो । 

सो बारेमा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीसँग प्रतिक्रिया माग्दा कोरम नपुगेकाले गाउँसभा स्थगित गरिएको जनाउँदै आफूमाथि लगाइएका आरोपहरु निराधार रहेको बताउनुभयो । गत वर्ष पनि सोही प्रकारको विवादका कारण डुडुवा गाउँपालिकाको असार १० भित्र हुने गाउँसभा पुस ४ गते र बिशेष गाउँसभा जेठमा सम्पन्न भएको थियो ।