• १६ भदौ २०८१, आइतबार

कैदी बन्दीलाई त्रिपाल र दाउरा वितरण

blog

कारागार प्रमुख जेलर अर्जुनजङ्ग शाहलाई त्रिपाल हस्तान्तरण गर्नुहुँदै प्रजिअ श्रवणकुमार पोखरेल । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, माघ ५ गते । शितलहर र चिसोबाट जोगाउन बाँके जिल्ला कारागार नेपालगन्जमा रहेका कैदी बन्दीहरुका लागि बिहीवार त्रिपाल र दाउरा वितरण गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले विभिन्न साइजका २२ थान त्रिपाल कैदी बन्दीहरुलाई वितरण गर्नका लागि कारागार कार्यालय बाँकेका प्रमुख जेलर अर्जुनजङ्ग शाहलाई हस्तान्तरण गर्नुभएको हो ।

कारागारको क्षमताभन्दा झण्डै तेब्बर सङ्ख्यामा रहेका कैदी बन्दीहरुलाई शितलहर र चिसोबाट बचाउन विभिन्न सङ्घ संस्थाको सहयोगमा उक्त त्रिपाल हस्तान्तरण गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । 

पछिल्ला दिनमा नेपालगन्जमा बढ्दैगएको शीतलहर र चिसोबाट जोगाउन कारागारमा रहेका कैदी बन्दीलाई सामूहिक आगो ताप्नका लागि आवश्यक दाउराको समेत प्रशासन कार्यालयले व्यवस्था मिलाइदिएको प्रजिअ पोखरेलले बताउनुभयो ।

त्रिपाल तथा दाउराले कैदी बन्दीहरुलाई शीतलहर र चिसोबाट जोगिन मद्दत पुग्ने भन्दै कारागार प्रमुख शाहले मनकारी सङ्घ संस्थाहरुलाई धन्यवाद प्रदान गर्नुभयो ।

सामाजिक क्षेत्रमा काम गर्ने होटल स्टार लाइट नीलदेवी प्रालि, मानवता नेपाल बाँके, हरपल होलिस्टिक होम केयर एण्ड ट्रेनिङ सेन्टर र लायन्स क्लब अफ नेपालगन्जको सहयोगमा सामुदायिक प्रहरी सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा कैदी बन्दीहरुलाई त्रिपाल व्यवस्थापन गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दीपेन्द्रकुमार जोशीले जानकारी दिनुभयो । २०×९ साइजको १५ थान र २०×१२ थानको ७ गरी २२ थान त्रिपाल प्रदान गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रजिअ पोखरेलका साथै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगी, राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख मोहन कुँवर, समाजसेवी सुमन गिरी श्रेष्ठ, केपी घिमिरे, सन्तोष विष्टलगायतको सहभागिता थियो ।

कारागार कार्यालय बाँकेमा ३ सय ५० जना कैदी बन्दी राख्ने क्षमता भए तापनि हाल ९ सय ४० जना कैदी बन्दी बस्दैआएका छन् ।