• १६ भदौ २०८१, आइतबार

अस्पतालमा बिहान ९ बजेबाट ओपिडी सेवा

blog

गुल्मी अस्पताल ।

तिलाचन पाण्डे

तम्घास, माघ ५ गते । बिरामीको चाप बढेपछि गुल्मी अस्पतालमा बिहान ९ बजेबाट ओपिडी सेवा सुरु गरिएको छ । बिरामीको चाप बढी हुने र दिउँसो गाउँ–गाउँमा पुग्ने सवारीहरु छुट्ने चिन्ताले सेवाग्राही आत्तिने हुँदा बिहान ९ बजेबाट सेवा सुरु गरिएको गुल्मी अस्पतालले जनाएको छ । 

अस्पतालका बरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले अझै पनि यो समयलाई सेवाग्राहीको समस्यालाई दृष्टिगत गर्दै थपघट गर्न सक्ने बताउनुभयो । 

बिहान ९ बजेदेखि अस्पतालबाट सेवा पाउँदा आफूलाई खुसी लागेको इश्मा गाउँपालिका –२ का बलाराम मरासिनीले बताउनुभयो ।  यसका साथै समयमै ल्याब रिपोर्ट आएमा अझ सहज हुने र त्यसको ब्यवस्था गर्न पनि उहाँले अस्पताल  व्यवस्थापनलाई आग्रह गर्नुभयो । 

भौतिक संरचना अभावले समस्या झेल्दैआएको गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माणाधीन छ । अस्पतालले पुरानो भवनमा साघुँरो कोठाबाट सेवा प्रदान गर्दैआएको छ । 

गुल्मी अस्पतालमा रेसुङ्गा नगरपालिकाले हाडजोर्नी सेवा सुरु गर्न हाडजोर्नी विशेषज्ञ डाक्टरलाई प्रोत्साहन भत्ता उपलब्ध गराएर सेवा प्रदान गरेको छ । गुल्मी अस्पतालमा अहिले प्रसूति र हाडजोर्नी विशेषज्ञ सेवा विस्तारले बिरामीले सहजरुपमा सेवा लिन पाएका छन् । 

पहाडी जिल्लामा विशेषज्ञ डाक्टरहरुको दरबन्दी भए पनि आउन नमान्ने भएकाले सेवाग्राहीलाई विशेषज्ञ सेवा लिन समस्या हुनेगरेको स्थानीयको भनाइ छ । १० जना विशेषज्ञ डाक्टरको दरबन्दीमा एक जना मात्र कार्यरत रहनुभएको जनस्वास्थ्य निरीक्षक बोमबहादुर अर्यालले जानकारी दिनुभयो ।

यसका साथै पाँच जना मेडिकल अफिसरको दरबन्दी रहेकोमा चार जना अध्ययन बिदामा रहेको र एक जना डेन्टल सर्जन करारमा रहेको अर्यालले बताउनुभयो । यस्तै, गुल्मी अस्पतालमा ८ जना नर्सको दरबन्दी रहेकोमा ४ जना मात्र कार्यरत रहेको पाइएको छ । 

चार जनामध्ये पनि एक जना अध्ययन बिदामा रहेको अस्पतालले जनाएको छ । अन्य कार्यक्रमबाट ६ जना नर्स राखिएको अर्यालले बताउनुभयो ।