• १६ भदौ २०८१, आइतबार

'पालिका केन्द्र विवादमा अदालतको ध्यान पुगेन'

blog

तिलागुफा नगरपालिका सञ्चालन हुँदै आएको वडा नं ६ को कार्यालय ।

प्रेमराज सिम्खडा

कालीकोट, माघ ५ गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाको केन्द्र विवाद ६ वर्ष बित्दा पनि टुङ्गिएको छैन । केन्द्र विवाद नटुङ्गिएको कारण पालिका भित्रको भौतिक पूर्वाधार निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समस्या भएको हो । 

राजनीतिक दलहरूका आ–आफ्नो स्वार्थको कारण नगरपालिका केन्द्रविहिन भएको छ भने यसैका कारणले नागरिकहरूले सास्ती भोग्नुपरेको छ । तिलागुफा नगरपालिका ६ का गणेश शाहीले तिलागुफा नगरपालिका बनेको ६ वर्षसम्म केन्द्रको टुङ्गो नलाग्नु दुखको कुरा भएको बताउनुभयो । सुरुवाती वर्षदेखि पालिकाको केन्द्र तोक्ने कार्यमा दलहरूबीच भएको विवाद अहिलेसम्म पनि समाधान नहुँदा आफूहरुले दुख पाईरहेको गुनासो गर्नुभयो । अहिलेसम्म एक गैरसरकारी संस्थाले बनाइदिएको तिलागुफा नगरपालिका ६ को वडा कार्यालयको भवनबाट नगरपालिकाको सेवा प्रवाह भइरहेको छ । 

स्थानीय शाहीले यो जस्तो लाजमर्दो अरु के होला भन्दै प्रश्न समेत गर्नुभयो । नगरपालिकाको केन्द्र कहाँ हुन्छ भन्ने बारे हामी नागरिकहरूमा मात्र होइन स्वयम नगर सरकार पनि अन्यौलमा रहेको सुनाउनुभयो । अघिल्लो सरकारले २०७६ मङ्सिर १५ गते बसेको सातौँ नगर सभाबाट तिलागुफा नगरपालिकाको केन्द्र तिलागुफा नगरपालिकाको ९ चिल्खाया हुस्केमा तोक्यो । त्यहाँका नागरिकले नगरपालिकालाई चाहिने जग्गा पनि पास दिए र त्यहाँ सुरक्षाका लागि प्रहरी चौकीको भवन पनि निमार्ण भइसकेको छ । तर उक्त निर्णयका विरुद्ध उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दर्ता भएकाले अदालतको निर्णय अस्थाई केन्द्र गाल्जे भएकाले यही ठाउँमा केन्द्र हुनु पर्ने एकथरीको माग छ । 

जग्गाको समस्या देखाउँदै हुस्केमा केन्द्र तोक्दा ठुलो विवाद भयो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ को उपदफा (३) मा गाउँपालिका वा नगरपालिकाको नाम र केन्द्र हेरफेर गर्नुपरेमा सम्बन्धीत सभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाई बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत् नेपाल सरकारमा पठाउनु पर्ने कानुनी व्यवस्था छ । नगरसभाले गरेको निर्णयमा दुई तिहाइ पुगेको पनि थियो । तर उच्च अदालत सुर्खेत जुम्ला इजलासले कानुनी प्रक्रिया पूरा नगरी पालिकाको केन्द्र तोकेको भन्दै उक्त निर्णय खारेज गरेपछि केन्द्र बिवाद सर्वाच्च अदालतसम्म पुगेको छ ।  

तिलागुफाको तत्कालीन सातौँ नगरसभामा निर्णय हुँदा नगरसभामा उपस्थित ५४ सदस्यमा ४७ जनाले मात्र मतदान गरेको, त्यसमा पनि ३७ जनाले पक्षमा र १० जनाले विपक्षमा मतदान गरेका थिए । गाल्जेमा पर्याप्त जग्गा दिँदा भौतिक पूर्वाधार, भौगोलिक र प्रशासनिक सुगमता, यातायात सञ्चार सुविधाका आधारमा तिलागुफाको केन्द्र गाल्जेमा हुनुपर्ने वडा नम्बर ६ का नागरिकको माग छ । तर वडा नम्बर ९ का स्थानीयले पहिलो नगरसभाले चिल्खायामा तोकिसकेको चिल्खायामै नगरको केन्द्र बन्नु पर्ने माग छ । जसका कारण अहिले पनि विवाद समाधान हुन सकिरहेको अवस्था छैन । 

तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले नगरपालिकाको केन्द्रका विषयमा अदालतमा मुद्दा चलिरहेकाले अदालतले नटुङ्गाएसम्म कुनै प्रक्रिया अगाडि नबढ्ने बताउनुभयो । अघिल्लो निर्णय गर्दा बहुमत जुटेको दावी गदै आउनु भएका वडा नं ९ का वडा अध्यक्ष नरेन्द्रवहादुर रोकायाले सबै प्रक्रिया पुरा भएको र राज्यको धेरै खर्च भइसकेको केन्द्रका विषयमा अदालतले ध्यान नदिएका कारणले बिवाद लम्वीदै गएको गुनासो गर्नुभयो । यही माघ ७ गते पेश्की भएकाले ४७ जना पुर्व जनप्रतिनिधि निर्णयकर्ता काठमाडांैमा छन् । उनीहरुले सबै प्रमाणपत्र लिएर सर्वाच्च आदालत पेश गरेका छन् ।