• ८ वैशाख २०८१, शनिबार

तस्बिरमा सेतो मच्छिन्द्रनाथको महास्नान

blog

सेतो मच्छिन्द्रनाथ आर्यावतिलोकेश्वरको महास्नान गराइँदै । तस्बिर: मनोजरत्न शाही

काठमाडौं, माघ ४ गते । आज सेतो मच्छिन्द्रनाथ आर्यावतिलोकेश्वरको महास्नान गरिएको छ । काठमाडौँको केलटोलमा रहेको जनबहाल मन्दिरको प्राङ्गणमा रहेको न्हवं दबूँ अर्थात् महास्नान गराउने मण्डपमा विराजमान गराइ विधिवत् रूपमा पूजा अर्चना गरी महास्नान गराइएको हो ।

पोंहेलाथ्व अष्टमी अर्थात् पुस शुक्ल अष्टमी तिथिको दिन सेतो मछिन्द्रनाथको महास्नान गर्ने गरिन्छ । त्यसभन्दा अघिल्लो दिन सप्तमीका दिन सम्बन्धित गुथियार तथा गुर्जुहरू बाजागाजाका साथ कलशमा जल लिन जाने परम्परा रहेको छ । महास्नानको लागि ढल्कोस्थित निर्मल तीर्थबाट कलशार्चन पूजा गरी त्यहाँबाट विभिन्न पाठ– स्तोत्र पढ्दै जल ल्याउने गरिन्छ । महास्नानको समयमा जिवितदेवीले पनि अवलोकन गर्न आउने परम्परा रहेको छ ।

९ वटा कलशमा जल लिएर फर्कँदा, ठाउँ–ठाउँमा पराल जम्मा गरी आगो तपाउने चलन पनि रहेको छ । यसरी आगो किन बालिन्छ भन्ने कुरामा यकिन तथ्य नभए तापनि, तत्कालीन समयमा नदीबाट फर्किदा चिसो हुने तथा रातको समय भएकोले जनावरहरू आउन सक्ने हुनाले ठाउँ– ठाउँमा परालको मुस्लो बाली ठुलो आगो बाल्ने गरेको जनश्रुति रहेको छ । महास्नान पश्चात् सेतो मछिन्द्रनाथको मूर्तिलाई सेतो कपडाले छोपेर अर्कै स्थानमा राखिन्छ र रंगरोगन तथा मर्मत गर्ने कार्य गरिन्छ ।

महानस्नान र मूर्तिको रगंरोगन पछि सेतो मच्छिन्द्रनाथको मूर्तिलाई दशकर्म विधि गरी पुनः मन्दिरमा स्थापित गरिन्छ । उपत्यकामा रहेको ४ करुणामयहरूमध्ये एक मानिने श्री सेतो मछिन्द्रनाथलाई पितृहरूको उद्धार गर्ने देवता तथा सुख शान्ति र रोगव्याधी निको पार्ने देवताको रूपमा पूजिने गरिन्छ ।

महास्नानका लागि तीर्थबाट जल ल्याउँदै

महास्नान अवलोकन पश्चात जिवीतदेवी कुमारी





Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।