• ७ जेठ २०८१, सोमबार

प्रधानमन्त्री कप क्रिकेट : बागमती र कर्णाली विजयी

blog

मुलपानी मैदानमा प्रतिस्पर्धा गर्दै बागमती प्रदेश र आर्मीका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, माघ ३ गते । बागमती प्रदेश र कर्णाली प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् । मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा बागमतीले त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले हरायो । सिद्धार्थ क्रिकेट रङ्गशाला भैरहवामा भएको अर्को खेलमा कर्णालीले लुम्बिनी प्रदेशलाई ६४ रनले हरायो । 

मूलपानीमा जितका लागि ९८ रनको सामान्य लक्ष्य पछ्याएको बागमतीले २२.१ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । बागमतीले प्रधानमन्त्री कपमा आर्मीलाई पहिलो पटक हराएको हो । बागमतीको जितमा अशोक पौडेल र प्रतिशत जिसिले २१/२१ रन बनाउनुभयो । ईशान पाण्डे र रविन जोशीले १२/१२ रन जोड्नुभयो । बलिङमा आर्मीका सोमपाल कामीले तीन तथा जितेन्द्र मुखिया र साहब आलमले दुई दुई विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले २७.१ ओभरमा सबै विकेटको क्षतिमा ९७ रन बनाएको थियो । आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाउनुभयो । भीम सार्की १८ रन जोड्नु भयो । 

बलिङमा बागमतीका सूर्य तामाङले पाँच विकेट लिनुभयो । प्रतिशत जिसी र रिवजन ढाकालले दुई दुई तथा कृर्जन गुरुङले एक विकेट लिनुभयो । बागमती अघिल्ला दुई खेलमा पुलिस र एपीएफसँग पराजित भएको थियो । आर्मी पहिलो खेलमा मधेसलाई हराएको थियो ।

यस्तै भैरहवामा भएको खेलमा कर्णालीलाई जिताउन तीव्र गतिका बलर दिनेश अधिकारी र स्पिनर दीपेन्द्र रावतको अलराउन्ड प्रदर्शन गर्नुभयो । जितको लागि एक सय ८५ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४१.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय २४ रन बनाएको थियो । लुम्बिनीका कृष्ण कार्कीले सर्वाधिक ४७ रन बनाउनुभयो ।  निर्मल गुरुङले २२, कृष्ण कार्की र निर्मल गुरुङले १०÷१० रन जोड्नुभयो । 

बलिङमा कर्णालीका दिनेश अधिकारीले तीन विकेट लिनुभयो । अनुज चनारा र दीपेन्द्र रावतले दुई दुई तथा दिवान पुनले एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने मौका पाएको कर्णालीले निर्धारित ४५ ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । कर्णालीका दिनेश अधिकारीले ५६ रन बनाउनुभयो । दीपेन्द्र रावतले ४७, हिमांशु शाही २५ र रवीन्द्र शाही ११ रन बनाउनुभयो । 

बलिङमा लुम्बिनीका अभिषेक गौतम र निर्मल गुरुङले तीन तीन विकेट लिनुभयो । मोहम्मद हुसेन, कृष्ण कार्की र अजय चौहानले एक एक विकेट लिनुभयो । कर्णालीले पहिलो खेलमा गण्डकी प्रदेशलाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा कर्णाली सुदूरपश्चिमसँग एक सय ३४ रनले पराजित भएको थियो ।