• १२ साउन २०८१, शनिबार

तेस्रो कार्यकालको दोस्रो वर्षमा नयाँ मानक स्थापित गर्नेछु : प्रधानमन्त्री

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्बिर

राधा नेपाली

अर्घाखाँची, माघ १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसको आधारमा टेकेर दोस्रो वर्ष थप उपलब्धिमूलक बनाउने बताउनुभएको छ ।

सोमबार दिउँसो नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित “आर्थिक विकास, पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवर्द्धन’’ कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘तपाईँहरूलाई थाहै छ– मैले तेस्रो पटक सरकारको नेतृत्व गरेको १ वर्षको अवधि पूरा भएको छ । जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा थियो, निर्वाचनबाट आएको त्रिअंकुश संसदले राजनीतिक स्थायित्व दिने/नदिनेमा निकै ठुलो संशय थियो । तर एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौतीहरू सम्बोधन हुँदै गएका छन् ।’’


प्रधानमन्त्रीले पछिल्लो एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा राम्रो सुधार हुँदै गएको बताउँदै उद्योगी व्यवसायीहरूलाई उत्साही भएर काम गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘यस अवधिमा अर्थतन्त्रमा महत्त्वपूर्ण सुधार आएको छ । विदेशी मुद्राको सञ्चितिमा इतिहासमै ठुलो प्रगति भएको छ । पर्यटन आगमनमा गुणात्मक वृद्धि भएको छ । बैङ्कको ब्याजदरमा कटौती, सहकारी र लघुवित्तका समस्याको सम्बोधन, भुक्तानी सन्तुलन, विप्रेषणमा वृद्धिका साथै शिथिल भएको उद्योग–व्यवसाय क्षेत्र क्रमशः चलायमान हुन थालेको छ । यो हाम्रा लागि खुसीको कुरा हो । तसर्थ उत्साही भएर काम गरौँ ।’’

उहाँले अर्घाखाँची जिल्लाको विकासमा सङ्घीय सरकारले प्राथमिकता दिने बताउँदै जिल्लाको विकासप्रति जिल्लाका राजनीतिक दलहरूमा देखिएको एकता र सहकार्यप्रति आभारसमेत प्रकट गर्नुभयो ।

नेपाली काँग्रेसकी नेता एवं प्रतिनिधि सभाकी पूर्व उपसभामुख पुष्पा भुसालले अर्घाखाँचीको सडक, शिक्षा स्वास्थ्य, कृषि र पर्यटनको विकासमा केन्द्रीय योजनाहरू हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “आर्थिक विकास गरी गरिबीको अन्त्य हुन जरुरी छ,  संविधानको कार्यान्वयन सुशासन कायम गर्नुछ । शान्ति प्रक्रियाको टुङ्गो नलाग्दासम्म समग्र विकास हुन सक्दैन ।”      

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले जिल्लाको समृद्धिको हकमा साझा दृष्टिकोण बनाएर जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो “समृद्धिका लागि कृषि र पर्यटकीय क्षेत्रको पूर्वाधार विकास जरुरी रहेको छ, सरकारले विकास र आर्थिक संवृद्धिका लागि विशेष ध्यान दिएको छ ।” 


पर्यटन विकासले अर्घाखाँचीको आर्थिक संवृद्धि गर्ने भएकाले पर्यटन कार्यक्रम गरिएको उहाँको बनाइ छ । राजनीतिक परिवर्तनपछि अब आर्थिक संवृद्धि र विकासका नै राष्ट्रिय एजेण्डा भएको उहाँले बताउनुभयो । 

लुम्बिनी प्रदेश सभा सदस्य राम्जीप्रसाद घिमिरेले पर्यटनको विकाससँगै  आर्थिक विकास गर्न सकिने बताउनुभयो । स्थानीय तहको बजेटले जिल्लाको पर्यटनको विकास गर्न नसकिने भन्दै महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गर्नुभयो ।

उहाँले भन्नुभयो, प्रदेश सरकारले संविधानमा पर्याप्त अधिकार नपाउँदा सङ्घीयताप्रति जनताको वितृष्णा बढ्दै गएको छ ।