• १६ भदौ २०८१, आइतबार

सिरहामा २३ वटा पुल निर्माण सम्पन्न

blog

६ लेन अन्तर्गत लहानको मुख्य चोकमा निर्माण गरिने ओभरपास र अन्डरपास नक्सा सरोकारवालाहरूको अगाडी प्रस्तुत गर्नुहुँदै आवास इन्जिनियर मनिष श्रेष्ठ । तस्बिर : जीवछ यादव

जीवछ यादव

लहान, माघ १ गते । पूर्वपश्चिम जाने राष्ट्रिय लोकमार्ग अन्तर्गत सहरी क्षेत्रमा ६ लेन र सहरी क्षेत्र बाहेक निर्माण भइरहेको चार लेन सडकमा पर्ने २५ मध्ये २३ वटा पुल निर्माण कार्य सम्पन्न भएको छ । पश्चिममा ममला र पूर्वमा कञ्चनपुर रुपनगरसम्म दक्षिण एसियाली मापदण्ड अनुसारको ८७ किलोमिटर सडक दुर्घटना कम गर्ने उद्देश्यले फराकिलो सडक निर्माण कार्य भइरहेको छ। 

निर्माण कार्यमा खटिएका आवासीय इन्जिनियर मनिष श्रेष्ठका अनुसार सिरहामा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बाँकी रहेको दुई पुल निर्माण कार्यलाई पनि तीव्रता दिइएको छ । एक किनारामा ७० प्रतिशत पिच निर्माणको कार्य पनि पुरा भएको हो । सम्पूर्ण कार्यको ७० प्रतिशत आगामी ६ महिनामा सम्पन्न हुने लक्ष्य छ । लहान नगरपालिका सहरी क्षेत्रमा विद्युत प्राधिकरण लहान शाखालाई सहरी क्षेत्रको विद्युत खम्बा र खानेपानी कार्यालयले खानेपानीका पाइप हटाउन ढिलाइ गर्दा समस्या भएको छ । जबकि विद्युत कार्यालय लहानलाई दुई करोड र खानेपानी कार्यालय लहानलाई एक करोड तीस लाख निकासा समेत गरिसकेको छ । 

लहान नगरपालिकामा निर्माण अघि बढाउँदा दुबैतर्फ नक्सा अनुसार पर्खाल हाल्नुपर्ने कार्यले लहानको मौलिकता र इतिहास नै लोप हुने भएकोले पर्खाल लगाउन नहुने लहान नगरपालिकाको पत्र आएकोले यसमा सहमति जुटाउन आवश्यक देखिएको इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो । पर्खालको ठाउँमा पिलर हाल्न सके धेरै राम्रो नसके पारित नक्सा अनुसार नै कार्य अघि बढाउन पुस ३० गते आइतबार छलफलको लागि सरोकारवालाहरूलाई राखेर छलफल गरिएको सिरहा–१ क प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो । 

तलबाट जाने (अन्डरपास) अन्तर्गत पर्खाल लगाउँदा लहानको इतिहास र मौलिकता हराउनुको साथै लोकमार्गमा व्यापार नै चौपट हुने धारणा नगरप्रमुख महेश प्रसाद चौधरी, नगरपालिकाका कानुनी सल्लाहकार सन्तोष कुमार सुवेदी लहान–५ का वडाध्यक्ष मो करिमले राख्नुभयो । उहाँका अनुसार छलफलमा उद्योग वाणिज्य सङ्घ सिरहा लहानका अध्यक्ष विकास शारडा, सङ्घीय सांसद गङ्गाप्रसाद यादव, प्रदेश सभा सदस्य लललिता दास, लहान नगरप्रमुख महेश प्रसाद चौधरी, नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य सत्य नारायण यादव लहान नगर कमिटीका नेकपा एमाले अध्यक्ष राज कुमार साह, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष हेमन्त कुमार यादव र लहान नगरपालिकाका विभिन्न क्षेत्रका अगुवा सरोकारवालाहरूको बिचमा छलफल गरिएको थियो । 

लहान नगरपालिकाको मुख्य चोकमा रहेका मधेश आन्दोलनमा शहादात प्राप्त गरेका रमेश महतो, विजय सहनी, प्रमोद सदाय, बेचन यादव र अनिस अन्सारीको सालिक हटाएर शालिक रहेको स्थानदेखि ५० मिटर दक्षिण राखिने सर्वदलीय निर्णय लहान नगरपालिकाको कार्यलयमा नगरप्रमुखको उपस्थितिमा भएको निर्णयलाई कार्यान्वयन गरी सहरी क्षेत्रमा ओभरपास र अन्डरपास निर्माणमा सहयोग गर्नुपर्ने प्रदेशसभा सदस्य लललिता दास, नेकपा एसका केन्द्रीय सदस्य सत्य नारायण यादव, नेकपा एमाले लहान नगर अध्यक्ष राजकुमार साह र नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष हेमन्त कुमार यादवले नगरप्रमुख महेश प्रसाद चौधरीलाई ध्यान आकर्षित गराउनुभएको छ ।

सहिद पार्क राखिने ठाउँमा नगरपालिकामा निर्णय भएकै एक दुई दिनपछि त्यस ठाउँमा महादेव र हनुमानको मूर्ति स्थापना गर्दा लहान नगरपालिकाले कुनै चासो नलिइँदा ध्यान आकर्षण गराउनु परेको सहभागीहरूले धारणा व्यक्त गर्नुभएको हो ।