• १३ साउन २०८१, आइतबार

करोडौ लागतमा स्थापना गरिएको बधशाला प्रयोगविहीन

blog

आधुनिक स्वचालित बधशाला । तस्विर : प्रनिश गिरी

प्रनिश गिरी 

कुश्मा (पर्वत), पुस २९ गते । पर्वतको कुश्मा नगरपालिकास्थित अर्मादी भन्ने स्थानमा स्वस्थ मासु उत्पादनका लागि कृषकले स्थापना गरेको बधशाला प्रयोगविहीन भएको छ । 

कृषक लालबहादुर हरिजनले तीन करोड रुपियाँको लगानीमा सञ्चालनमा ल्याएको कुश्मा नगरपालिका ४ मा रहेको बधशाला (सटरिङ हाउस) अहिले प्रयोगविहीन अवस्थामा छ ।

कृषक हरिजनले ५ वर्ष पहिले इटलीबाट खरीद गरी सञ्चालनमा ल्याएको सटरिङ हाउस अहिले ठप्प भएपछि दुखेसो पोख्दै भन्नुभयो, “बधशाला ऐन २०५५ लागू गर्न सरकारले कुनै चासो देखाएन । कुखुराको मासु अव्यवस्थित रुपमा यत्रतत्र विक्री गर्दा पनि कुनै रोकतोक छैन । आधुनिक स्वचालित मेशीन रहेको बधशाला बन्द अवस्थामा छ ।” 

धौलागिरि एकीकृत नामक कृषि फर्म २०७५ देखि करिव १५ रोपनी क्षेत्रफलमा सञ्चालन गर्दै आउनुभएका कृषक हरिजनले कुखुरा पालन व्यवसायसँगै माछापालन र तरकारी खेती समेत गर्दै आउनुभएको छ ।

बधशाला सञ्चालनमा आएको केही महिनासम्म आफूले पालन गरेका कुखुराको मासु उत्पादन गरेको भए पनि अन्य कुखुरा पालक कृषक, मासु विक्रेता र सरोकारवालाले स्वच्छ मासु उत्पादनमा चासो नदेखाएको कृषक हरिजनको गुनासो छ । 

कृषक हरिजनका अनुसार बधशालाको क्षमता प्रतिघण्टा २२० वटा कुखुरा बध गर्नेछ । आधुनिक बधशालामा व्यवस्थापन गरिने कुखुराको मासु बाह्य स्थानमा तयार गरिनेभन्दा स्वच्छ, सफा र स्वस्थकर हुन्छ । अत्याधुनिक मेशीनमा मासु काटमार गर्न प्रयोग हुने स्वचालित मेशीनमा खिया नलाग्ने स्टिलको प्रयोग हुन्छ भने कुखरा सफा गर्न प्रयोग हुने पानी समेत स्वच्छ प्रयोग हुने, ंिझगा र धुँवाधुलो नहुने गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र स्वस्थकर मासु तयार हुने कृषक हरिजनको भनाइ छ । 

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका अनुसार जिल्लाभर कुखुरा मासु विक्री पसलको संख्या करिव दुईसयको हाराहारीमा छ । माछामासुको वार्षिक उत्पादन २ हजार ८४ मेट्रिक टन रहेकोमा विक्री हुने मासु ७० प्रतिशत कुखुराको छ । कुखुराको मासु विक्रि गरिनु पहिले जिउदो कुखुराको स्वास्थ्य परीक्षण हुने व्यवस्था नरहेको केन्द्रको भनाइ छ । 

पशु सेवा विज्ञ केन्द्र पर्वतका प्रमुख रामजी पौडेलले भन्नुभयो, “पशु बधशाला ऐन २०५५ लागू हुन नसक्दा आधुनिक बधशाला संचालक कृषकलाई मर्का परेको छ । जिल्लामा बाह्य स्थानमा नै कुखुराको काटमार हुनेगरेको छ । मासु पसलले तोकिएको मापदण्ड पूरा गर्न नसकेको भए पनि केही मात्र सुधार भएको छ ।”