• १६ भदौ २०८१, आइतबार

थारु बस्तीमा सुरुभयो माघ पर्वको उल्लास

blog

माघ पर्वको अवसरमा नृत्य प्रस्तुत गर्दै थारु महिला : लीलाधर वली

लिलाधर वली

घोराही, पुस २९ गते । घोराही उपमहानगरपालिका–१६ स्यानी अम्वारपुर निवासी अनिता चौधरीलाई माघी पर्वको उमङ्गले छोएको छ । थारु समुदायले नयाँ वर्षको रूपमा माघ नजिकिएसँगै गाउँघरमा नाचगान हुँदा अनितालाई बेग्लै अनुभूति हुने गर्दछ ।

अनिता माघीलाई नयाँ वर्षसँगै मुक्तिको पर्वका रूपमा मनाउने गर्दै आउनुभएको छ । पूर्व कमलरी समेत रहनुभएकी अनिताले पहिले थारु समुदायमा कमैया, कमहरी बस्ने प्रचलन रहे पनि अहिले छैन । कमलरी बस्ने  प्रचलन हुँदा हरेक माघ महिनामा कहाँ को कमैया कमलरी बस्ने भन्ने निर्णय हुन्थ्यो, पछिल्लो समय हटेको उहाँले बताउनुभयो । त्यही भएर माघीलाई मुक्ति पर्वको रूपमा जोडेर हेर्नेगरेको अनिताले बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘माघ हाम्रो नयाँ वर्ष पनि हो । सबै नयाँ कामको निधो यही बेला गर्ने भएकाले टाढा काममा गएकाहरू पनि घर फर्किने र रमाइलो गर्ने हुन्छ । अहिले गाउँ–गाउँमा माघ मनाउने, नाचगान गर्ने, उत्सव मनाउने भइरहेका छन् ।’ उहाँ हरेक दिन थारु समुदायको पहिचानसँग जोडिएको पोसाक लगाउन नसके पनि मेला, पर्व र महोत्सव लगायतका कार्यक्रममा पोसाक र गरगहना लगाउने  गरेको बताउनुभयो । 

माघी पर्वलाई थारु समुदायले नयाँ वर्षसँगै आर्थिक वर्षको रूपमा मनाउने गरेको थारु संस्कृतिविद् बेझलाल चौधरीले बताउनुभयो । जसअनुसार माघ १ गते पहिलो दिन बिहानै नुहाएर अभिभावकसँग आशीर्वाद लिने, दोस्रो दिन माघ २ गते गते घरभित्रको सबै कुराको छिनोफानो गर्ने र माघको ३ गते गाउँको सामाजिक कामको निर्णय गर्ने गरिन्छ । 


त्यसैगरी बडघरका रूपमा नेतृत्व चयन गर्ने चलन रहेको छ । बडघर एकताको प्रतीकका रूपमा मान्ने गरिएको भन्दै बडघरले प्रत्येक गाउँमा हुनेगरेका कामकाज र न्यायिक छलफलको निर्णय गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार थारु समुदायको प्रतिनिधित्व गर्ने र शान्ति सुव्यवस्था कायम राख्ने काम बडघरहरूले गर्दछन् । त्यसका साथै चाडपर्व, बाटो, विद्यालय, कुलोजस्ता सामाजिक काम तथा झगडा, जनश्रमदान र खेतीपातीजस्ता कुरामा थिति बसाउने काम समेत बडघरले गर्ने गर्दैआएका छन् ।  

माघी पर्व मनाउन कामको सिलसिला तथा पढाइका लागि घरबाहिर रहेकाहरू घरमा फर्किएका छन् । जसलेगर्दा अहिले थारुका बस्तीमा उत्साह थपिएको समेत उहाँले बताउनुभयो ।  

माघीकै लागि थारु समुदायमा घरहरू समेत लिपपोतले सिँगारिएका छन् भने शुभकामना आदानप्रदान कार्यक्रमसँगै सांस्कृतिक कार्यक्रम भएका छन् । थारु समुदायलाई माघीलाई ठुलो पर्व तथा नयाँ वर्षका रूपमा मनाउने गर्छन् । थारु समुदायमा माघी पर्वमा बङ्गुर र सुँगुरको मासु, जाडको झोल र ढिक्री अनिवार्यजस्तै हुन्छ । त्यसका लागि माघीको अघिल्लो दिन आज बङ्गुर काट्ने, ढिक्री बनाउनका लागि पिठो तयार गर्ने, तरुल लगायतका बस्तुहरू जुटाउने गरिन्छ ।  

माघी पर्वका अवसरमा तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानुगरी ६ प्रकारको तिलको प्रयोग गर्नाले जीवनमा सफलता प्राप्त गरिने विश्वास थारु समुदायमा रहेको छ । त्यस्तै, ढिक्री, सुँगुरको मासु, माछा, तरुल लगायतका विभिन्न परिकार बनाएर खाने प्रचलन रहेको संस्कृतिविद् चौधरीले बताउनुभयो ।