• २५ वैशाख २०८१, मङ्गलबार

राप्रपाका थापाद्वारा उम्मेदवारी फिर्ता, ६ जनाको उम्मेदवारी कायमै

blog

उम्मेदवारी फिर्ता लिनुभएका राप्रपा नेता निरञ्जन कुमार थापा । तस्बिर : कपिल ज्ञवाली ।

कपिल ज्ञवाली
सिद्धार्थनगर, पुस  २८ गते ।
 राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निरञ्जन कुमार थापाले उम्मेदवारी फिर्ता लिनुभएको  छ । निर्वाचन अधिकृत कूलप्रसाद पाण्डेले थापाले शुक्रबार उम्मेदवारी फिर्ता लिएकाले अब लुम्बिनीमा ६ जना उम्मेदवार कायम रहेको बताउनुभयो । 

राप्रपाबाट अन्य पदमा उम्मेदवारी दिएका थापाले निर्वाचनको मत आफू अनुकूल नदेखेपछि उम्मेदवारी फिर्ता लिएको उहाँको भनाइ छ । राप्रपाले कसलाई मत दिने भन्ने विषयमा पार्टीले निर्णय गरेको छैन । थापा पूर्व गृहमन्त्री तथा राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक समेत हुनुहुन्छ ।

लुम्बिनीमा राप्रपाको महिलातर्फ कपिलवस्तुकी विजय लक्ष्मी सिंहको उम्मेदवारी भने कायमै छ । महिला कलस्टरमार्फत् उम्मेदवार रहेकी सिंहको उम्मेदवारी भने कायम रहेको राप्रपाका सहायक महामन्त्री ताहिर अलीले जानकारी दिनुभयो । ‘‘निर्वाचनको मिति आउन अझै समय बाँकी छ’’, अलीले भन्नुभयो, ‘‘निर्वाचन हुने बेलासम्म पार्टीले जे निर्देशन गर्छ, हामी त्यहीअनुसार अघि बढछौं ।’’

महिला कोटामा नेकपा (एमाले) बाट तुलसाकुमारी केसी, गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र राप्रपाबाट विजयलक्ष्मी सिंहको उम्मेदवारी परेको छ । त्यस्तै, अन्यबाट राप्रपाका थापाले उम्मेदवारी फिर्ता लिएपछि अब एमालेका उपेन्द्रबहादुर घर्ती, गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का झक्कुप्रसाद सुवेदी, जनमत पार्टीबाट बाल गोविन्द चौधरी उम्मेदवार हुनुहुन्छ । राष्ट्रियसभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौँदीको कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।  लुम्बिनीमा राप्रपाको २६९ मतभार छ । लुम्बिनीमा दुई पदका लागि निर्वाचन हुँदैछ ।