• २० वैशाख २०८१, बिहिबार

३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

नेपाली सेनाको पदयात्रा टोली हनुमान ढोकामा

blog

काठमाडौं, पुस २६ गते । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा–काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले सुरु गरेको पदयात्रा आज हनुमान ढोका आइपुगेको छ ।

३०२ औं पृथ्वी जयन्तीको अवसरमा  नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सवुजका झण्डाहरु लिएर पृथ्वीनारायण शाहकालीन पोशाकमा बाजागाजासहित निस्किएको यात्रा हनुमानढोका स्थित श्री शार्दुल जंग गुल्मले आयोजना कार्यक्रममा प्रवेश गरेको हो । हनुमानढोकामा कार्यरथी विभाग उपरथी दिपककुमार बानियाँलगायतले पदयात्रीलाई फूलमाला तथा खादा पहिराएर स्वागत गर्नुभएको थियो ।


गोरखा दरबारबाट सुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौं आइपुगेको हो ।  टर्च र झण्डासहित उक्त पल्टन पुस २७ गते पृथ्वी जयन्तीको दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुनेछ । 

पदमार्ग, कोट, गढी र किल्लाहरु सम्वर्द्धन तथा प्रवर्द्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रम अन्तर्गत पदयात्रा गरिएको सेनाले जनाएको छ ।

 हनुमानढोकामा शार्दुलजंग गुल्मले आयोजना गरेको कार्यक्रमका बीच उक्त टर्च हस्तान्तरण गुल्मका गुल्मपति पूर्ण प्रजापतिले ग्रहण गर्नुभयो । गत २१ गते शनिबार गोरखा दरबारको हनुमान भञ्ज्याङबाट यात्रा सुरु भएको हो ।


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।