• २२ असार २०८२, आइतबार

बाजुरामा भुवो पर्वको रौनक

blog

खप्तड छेडेदह गाउँपालिका – ६ आटिचौरका स्थानीय भुवा खेल्दै । तस्बिर: शेरबहादुर सार्की

बाजुरा, पुस २६ गते । बाजुरामा कौरब र पाण्डवको कथामा आधारित सांस्कृतिक पर्व भुवो सुरु भएको छ । बाजुराका जिल्लाका हरेक गाउँ बस्ती बस्तीमा यती बेला दमाहा बाजाका साथ स्थानीय युवाले हातमा ढाल तरबार समातेर भुवो सुरु गरेका छन् । 

खेतीपातीको काम सकेर यहाँका स्थानीय बासिन्दा फुर्सदिला भएको समयमा खेलिने यो पर्व वीरताको गातामा आधारित छ । यो पर्वलाई विशेष गरी बाजुरा, बझाङ,  अछाम र डोटी जिल्लामा विशेष पर्वका रूपमा मनाइने प्रचलन पुस्तौँदेखि अहिलेसम्म रहँदै आएको छ ।

पुस महिनाको चतुर्दशी अर्थात् औँसीको अघिल्लो रातबाट काठको मुढो बालेर सुरु गरिने यो भुवो पर्वलाई अहिलेका युवापुस्ताले पनि दौरा सुरुवालको  पोसाकमा ढाल, तरबार तथा लाठी खेलाएर नाच्ने प्रचलन छ । 

त्रेतायुगमा पाण्डव कौरवबिचको लडाइँ सकिएपछि पाण्डव पक्षले खुसीयाली मनाइएको दिनमा यो पर्व मनाइने किम्बदन्ती छ । यो पर्वमा पाण्डवले जितेको जितको गाथामा गीतहरू समेटिएका हुन्छन् । बाजुरा जिल्लाको हिमाली स्वामिकार्तिक, जगनाथ , बुढीनन्दा , बडिमालिका , गौमुल , बुढीगङ्गा , त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकालगायतका विभिन्न ठाउँमा यो पर्वलाई विशेष रुपमा मनाइने प्रचलन छ ।

त्यसै गरी छिमेकी जिल्ला अछामको साँफे नगरपालिका बलेल्त, तुका, भेरासैन, बाब्ला र बटालीगाउँलगायतका विभिन्न ठाउँमा पनि यहाँका स्थानीयले यो भुवो पर्वलाई विशेष रूपमा मान्ने गर्दछन् ।त्यसै गरी अर्को छिमेकी जिल्ला बझाङको छान्ना, गोलाई, पढेस्, थलारा र भातेखोलालगायतका ठाउँमा पनि यो भुवो भस्सो खेल्ने चलन छ ।

यही पर्वलाई अवसरको रूपमा पारेर कामको सिलसिला विदेश गएका आफन्तजनसमेत यो पर्व मनाउन घरमा आएर भुवो भस्तो खेलेर रमाउने गरेको गरेको पाइन्छ ।पाण्डव र कौरवको लडाइँमा रात परेपछि  उज्यालो आवश्यक भएकोले राँकाे सल्काइ लडाइँ सुरु गरेको स्मरणमा अहिले पनि मध्यरातमा राँको बाल्ने गरेको बुढीगङ्गा नगरपालिका –४ बानेगाउँका भुवो भस्सोका रजबार कलक कटुवालले बताउनुभयो ।उहाँले भन्नुभयो, “यो भुवोमा दमाहा बजाएर तरबार हातमा लिएर  चाली खेल्ने यो भुवो पर्वमा  रात भरी आगोको मुढा सल्काएर देउडा खेल्ने गरिन्छ ।”

यो पर्वमा यहाँका स्थानीयले भरिखेल , भोस्सो खेल देउडा खेललगायत विभिन्न खेल खेल्ने गरेको रजवार कटुवालले बताउनुभयो । यो भुवो पर्वको समयमा गाउँमा छट पनि खेल्ने चलन छ । गाउँमा कसैको घरमा जेठा छोरा जन्मेको एक वर्ष पूरा भएपछि उसको घरमा गएर छठ माग्ने  चलन पहिलेदेखि अहिलेसम्म चलेको छ ।

छठमा घरको आँगनमा भगवान् कृष्णको गाथा गाउने र  जन्मेको बच्चालाई गाउँका  ठुलाबडाले आशीर्वाद दिनुका साथै घरका मान्छेले सबै गाउँलेलाई बोलाई भोज गर्ने चलन पनि यस पर्वको अर्को विशेषता छ ।

यो पर्वको असर पारेर गाउँमा कसैले नयाँ जागिर पाएमा  पदोन्नति भएमा अथवा परिवारमा खुसीको काम भएमा बेठ दिने र गाउँघरमा मान्छे बोलाई भोजभतेर खुवाउने प्रचलनले यो पर्वको विशेष महत्त्व छ । यो पर्व सुरु गरेको दुई तिन दिनपछि गाउँ गाउँमा माग्न जाने र त्यसपछि अन्तिम गर्ने समयमा भुवो भस्याउने गर्दछन् ।

यहाँका स्थानीयले यति बेला ए यो भुवो काँ जाँदो ? भस्सो रे भस्सो । ए दै केला खान ,भस्सा रे भस्सा ।। ए भुवा ए भुवा भस्सा भस्सा भस्साइरे भस्सा ।। भनेर भुवो भस्याउने गर्दछन् । यती बेला बाजुराको विभिन्न ठाउँमा जताततै ए भस्सा भस्साइरे भस्साको आवाजले गाउँबस्ती गुन्जिने गर्दछन् । 

यहाँका स्थानीयले दौरा सुरुवालमा सजिएर हातमा ढाल तरबार समातेर भुवो पर्व खेलेको समयमा बाजुराका गाउँ बस्तीमा भुवो भस्सोको रौनक छाउने गरेको कटुवालले बताउनुभयो । 


Author

शेरबहादुर सार्की/शैलेन्द्र रोकाया