• १३ साउन २०८१, आइतबार

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

blog

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवा ।

काठमाडौं,  पुस २५ गते । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो जमिनमा गाजा खेती गर्ने विकल्पमा पनि सोच्नुपर्ने धारणा  राख्नुभएको छ । 

उहाँले भन्नुभयो, ‘‘बाझो जमिनमा के गर्ने भन्ने कुरामा गाजामा अनुसन्धान गर्नेहरुले प्रस्ताव गरिरहेका छन् । समितिमा आएर प्रस्तुत गर्छु भन्नुभएको छ । केही समयपछि हामी प्रस्तुतिको वातावरण मिलाउँछौं।’’

समितिको बुधबार बसेको बैठकमा कृषिमन्त्री बेदुराम भुसालले बजेट अभावका कारण कृषिको आधुनिकीकरण तथा उत्पादन वृद्धि गर्न नसकिएको र १० लाख हेक्टरभन्दा बढी जमिन बाँझो रहन पुगेको जानकारी गराएपछि सभापति राणाले बजेट बढाउन पहल गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ ।  

बजेट बढाउनका लागि समितिले अर्थ मन्त्रालयमा अनुरोध गरेर पत्र पठाउने उहाँको भनाइ छ । 

सभापति राणाले भन्नुभयो, ‘‘कृषि हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो । मैले अर्थमन्त्री र सचिवलाई जहिले पनि भन्ने गर्छु कि यो लगानी हो, ५ रुपैयाँ हाल्यो भने ५० रुपैयाँ फल्छ, पैसा हाल्नुस्, कृषिमा जुन किसिमको सुविधा नेपाली जनताले खोजेका छन्, त्यसका लागि कम्तीमा पनि ५ प्रतिशत बजेटका लागि समितिबाट लबिङ गर्छौं, समितिले कृषि मन्त्रालयलाई पूर्ण सहयोग गर्छ ।’’

बैठकमा कृषिमन्त्री भुसालले आयात प्रतिस्थापन गर्न उत्पादन वृद्वि गर्नुपर्ने र यसका लागि कृषिमा भएका समस्याहरू निराकरण गरेर जानुपर्नेमा जोड दिनुभयो । 

कृषिको आधुनिकीकरणका लागि प्राविधिक जनशक्तिको अभाव रहेको र मन्त्रालय अहिले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरिरहेको जानकारी मन्त्री भुसालले दिनुभयो ।

सभापति राणाले संविधानको भावना र भोगाइबाट सिकेर ओएमएन गर्न अनुरोध गर्दै प्राविधिक नियामक विज्ञहरु केन्द्रबाट हुने र सेवा प्रवाह प्रदेश र स्थानीय तहबाट हुने गरी व्यवस्थापन गर्न आग्रह गर्नुभयो । 

मन्त्री भुसालले १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको र पाइपबाट नदी प्रणाली जोड्नुपर्ने धारणा राख्नुभयो । सभापति राणाले बाँझो जमिनमा गाजा खेती गर्ने विकल्पमा पनि सोच्नुपर्ने धारणा राख्नुभयो । 

‘बाझो जमिनमा के गर्ने भन्ने कुरामा गाजामा अनुसन्धान गर्नेहरुले प्रस्ताव गरिरहेका छन् । समितिमा आएर प्रस्तुत गर्छु भन्नुभएको छ । केही समयपछि हामी प्रस्तुतिको वातावरण मिलाउँछौं, उहाँले भन्नुभयो । 

बाँदर नियन्त्रण गर्न चिकित्सक भारत पठाइने

कृषि समितिले किसानको बाली नष्ट गर्ने बाँदर नियन्त्रणको तालिम लिन पशु चिकित्सक भारत पठाउने भएको छ । 

यसका लागि सभापति राणाले भारतीय राजदूत नवीन श्रीवास्तवलाई पत्र लेखेर सहयोगका लागि अनुरोध गर्नु भएको छ । 

भारतीय दूतावासले समितिको अनुरोध स्वीकार गर्दै हिमाञ्चल प्रदेशमा बाँदर नियन्त्रणको प्राविधिक उपाय र बाँदरको बन्ध्याकरणबारे नेपाली भेटेरनरी डाक्टरलाई तालिमका दिने भएको हो ।

सभापति राणाले भन्नु भयो, ‘‘‘किसानको बाली र उत्पादन नष्ट गर्ने बाँदरलाई व्यवस्थापन गर्नका लागि नेपालका १० जना भेटेरनरी डाक्टरलाई मास्टर तालिम र ५ देखि १० जना रेन्जर र वन्यजन्तु स्काउटहरुलाई तालिमका लागि भारतको हिमाञ्चल प्रदेश पठाउँछौं । यसका लागि पशुपक्षी सचिव र वन मन्त्रालयको सचिवसँग कुरा भइसकेको छ । एक डेढ महिनाभित्रै टोली पठाउँछौं ।’’

विधेयकको दफावार छलफल समितिमै

समितिले प्रतिनिधिसभाबाट आएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयकमा दफावार छलफल मूल समितिमै गर्ने निर्णयसमेत गरेको छ । २५ भदौमा गठन भएको उपसमितिको समय सकिँदा पनि दफावार छलफल नभएपछि बुधबारको बैठकले मूल समितिमै छलफल अगाडि बढाउने निर्णय गरेको समिति सचिव शिवदत्त बरालले जानकारी दिनुभयो ।