बोमलाल गिरी
नवलपुर पुष २४ गते। नवलपुरको एक सरकारी विद्यालयले ब्याजमा पैसा लगाएर मोटो रकम असुलिरहेको पाइएको छ। जिल्लाको हुप्सेकोट वडा नम्बर ४ शंखदेवमा रहेको श्री शिक्षा बोधनी (सामुदायिक) माध्यामिक विद्यालयले ४० हजार रुपियाँ लगानी गरेर त्यसको ब्याजस्वरुप २०७६ साल असार २२ गते चार लाख रुपियाँ र सोही वर्षको असार ३० गते ६४ हजार ७९८ रुपियाँ असुली सकेको छ।
चार लाख ६४ हजार ७९८ रुपियाँ तिरिसक्दा पनि २०७९ साल असार २० गते एक पत्र लेखेर अन्तिम ताकेता भन्दै ६ लाख ३६ हजार ७ सय ९६ रुपियाँ भुक्तान गर्न भनिएको तथ्य फेला परेको छ। यो सबै हिसाब गर्दा ऋणीले विद्यालयलाई ११ लाख एक हजार ५९४ रुपियाँ बुझाउनु पर्ने देखिन्छ।
कुरा एक दशक अघिको हो। स्थानीय दिलबहादुर राईले विद्यालयबाट ४० हजार रुपियाँ ऋण लिनुभयो। उहाँले अर्का स्थानीय बेल बहादुर खालसँग पैसा लिनुपर्ने भएकाले त्यो ऋण खाललाई थमाइयो। खालले पनि अर्का स्थानीय भिमबहादुर दर्लामीसँग लिनुपर्ने भएकाले त्यो ऋण दर्लामीको काँधमा आयो। त्यसको ब्याज अहिले दर्लामीले तिरिरहनु भएको छ। उहाँले हालसम्म ४० हजारको चार लाख ६४ हजार ७ सय ९८ रुपियाँ तिरिसक्नु भएको नगदी रसिदले देखाउँछ।
‘दुई रुपियाँ ब्याज भनेर मेरो साथीको साथीले ४० हजार लिएको रहेछ, घुम्दैघुम्दै त्यो ऋण मेरो थाप्लोमा आइपुग्यो, जिल्ला प्रहरी कार्यालयमा भेटिएका भीम बहादुरले भन्नुभयो, ‘दुई पटक गरेर चार लाख ६४ हजार नगद दिइसकेँ, अझै ६ लाख ३६ हजार ७ सय ९६ रुपियाँ ऋण तिर्न बाँकी छ भनेर विद्यालयले ताकेता गर्दै पत्र पठाएको छ, पैसा नभएर तिर्न सकेको पनि छैन।’
पछिल्लो समय विद्यालयले तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद न्यौपानेको हस्ताक्षरमा गत असारमा पत्र काटी बाँकी रकम ६ लाख ३६ हजार ७ सय ९६ रुपियाँ भुक्तान गर्न अन्तिम ताकेका गरेको थियो।
भीम बहादुरका छोरा पदम बहादुरले पत्र काट्दा विद्यालयले ब्याजलाई पनि सावा किटान गरेर आफ्नो अन्जान बुवासँग तमसुक गरेको दाबी गर्नुभयो। यस विषयमा बुझ्न खोज्दा तत्कालीन प्रधानाध्यापक न्यौपानले विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर विद्यालय चलाउनका लागि लगाएको ब्याज उठाउन भनेकाले परिपत्र गरेको बताउनुभयो। ‘मैले त तमसुकअनुसार परिपत्र मात्र गरेको हुँ, बाँकी कुरा समितिलाई बुझ्नु पर्छ’, प्रअ न्यौपानले भन्नुभयो।
विद्यालयले ऋण लगानी गर्दा मित्रलाल तिवारी प्रधानाध्यापक हुनुहुन्थ्यो। यस बारेमा तिवारीसँग बुझ्न खोज्दा धेरै पहिलेको कुरा भएकोले आफूले बिर्सिसकेको बताउनुभयो। ‘भीमबहादुरले भनेको कुरा सहि हो तर मैले विद्यालय छोडेकै ७/८ वर्ष भइसक्यो, मलाई सबै कुरा थाहा छैन’, तिवारीले भन्नुभयो, ‘त्यतिबेला आन्तरिक स्राेतबाट राखेका शिक्षकलाई तलब दिन धान्याञ्चल गरेर उठाएको पैसा ऋण लगानी गरिएको थियो। दुई रुपियाँ ब्याज तिर्न मञ्जुर गरेरै ऋण लगाइएको थियो।’
हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष महेन्द्र पाण्डेले त्यतिबेला विद्यालय चलाउन धर्मभकारी राखेर उठेको रकम ब्याजमा लगाउने निर्णय भए अनुसार गरिएको बताउनुभयो। पहिलेको समितिले गरेको कारोवार भएकाले स्पष्ट खातापाता नहेरी बोल्न नसकिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर मसराङ्गीको भनाइ छ।
प्रधानाध्यापक दुर्गासिंह सारुले यस विषयमा पहिलेको समितिलाई पनि बोलाएर विस्तृत बुझ्ने प्रतिकृया दिनुभयो। ऋणी भीमबहादुर भने आफूलाई विद्यालयले अनुचित लेनदेन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउनु भएको छ।
प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई समन्वय गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिनुभयो। ‘निवेदल दर्ता भएको हो, तर एक पटक दुबै पक्षलाई राखेर छलफल गराउनका लागि सीडीओ सावले तोक लगाएर जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिनुभएको छ, सहायक प्रमुख जिल्ला अधिकारी रिजालले गोरखापत्र अनलाइनसँगको कुराकानीमा भन्नुभयो।