• १३ असोज २०८१, आइतबार

वन अधिकृतविरुद्ध एक करोड २५ लाख भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, पुस २३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड २५ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत (अधिकृत दसौँ तह)विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता देवप्रसाद थपलियाले डिभिजनल वन अधिकृत दीर्घ नारायण कोइरालाले एक करोड २५ लाख ९६ हजार ३५३ रुपियाँ भ्रष्टाचार गरेको आरोपमा सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जानकारी दिनुभयो ।

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कोइरालाले भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता थपलियाका अनुसार कोइरालाले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति (२०४६ जेठ २ गते) देखि २०७८ फागुन १२ सम्ममा गरेको आम्दानी तथा खर्चको विश्लेषण गर्दा एक करोड २५ लाख ९६ हजार ३५३ रुपियाँ बढी देखिएको छ ।

कोइरालाको सम्पत्ति विवरणको विश्लेषण गर्दा पारिश्रमिक बचत, भत्ता बचत रकम, घर जग्गा बिक्री, जीवन बिमा परिपक्व भई प्राप्त गरेको रकम, ग्यास स्टोरबाट भएको आम्दानी, शेयर बिक्रीबाट प्राप्त रकम, कृषि आय र छोरीको बचत रकमसमेत गरी ८१ लाख ८६ हजार ९५६ रुपियाँ ३१ पैसा आर्जन गरेको देखिन्छ अख्तियारले उल्लेख गरेको छ ।

सोही अवधिमा व्यय (खर्च तथा लगानी) तर्फ घर निर्माण, जग्गा खरिद र रजिस्ट्रेसन दस्तुर, अध्ययन खर्च, बिमाको प्रिमियम भुक्तानीमा भएको खर्च, सवारी खरिदमा भएको खर्च, शेयर खरिद तथा लगानी, ग्यास स्टोरमा गरेको लगानी रकम, सामाजिक व्यवहार खर्च, विद्युतीय उपकरण खरिदबापतको रकम र बैङ्क मौज्दातसमेत गरी जम्मा दुई करोड सात लाख ८३ हजार ३४९ रुपियाँ ८५ पैसा खर्च तथा लगानी भएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २०(१) बमोजिम गैर कानुनी रूपमा सम्पत्ति आर्जनसम्बन्धी कसुर गरेको भन्दै आयोगले कोइरालाविरुद्ध एक करोड २५ लाख ९६ हजार ३५३ रुपियाँ बराबरको बिगो जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।