• २७ पुस २०८१, शनिबार

बागमतीमा सत्ता गठबन्धनबाट चार जनाको उम्मेदवारी

blog

निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन पुगेको सत्ता गठबन्धनका उम्मेदवार र नेताहरू । तस्बिर : गोरखापत्र

राममणि दाहाल

हेटौँडा, पुस २३ गते । राष्ट्रिय सभा सदस्यको रिक्त हुने पदमा बागमती प्रदेशबाट सत्ता गठबन्धनमा रहेको तीन दलका चार जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । हेटौँडा ५ स्थित राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालयमा सत्ता गठबन्धनका नेताहरूसहित पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो । 

यस प्रदेशबाट नेपाली कांग्रेसको तर्फबाट जीतजङ्ग बस्नेत र विष्णुदेवी पुडासैनीले उम्मेदवार दर्ता गराउनुभएको छ । यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट  श्रीकृष्णप्रसाद अधिकारीको र नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजाल विश्वकर्माले उम्मेदवारी दिनुभएको छ ।

राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमध्ये बागमती प्रदेशमा चार जनाका लागि निर्वाचन हुँदैछ । यस प्रदेशमा महिला, अल्पसङ्ख्यक/अपाङ्गता भएका, दलित र अन्यबाट गरी चार जनामध्ये सत्ता गठबन्धनमा रहेको कांग्रेसले दुई, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक–एक जना राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउने गरी भागबण्डा गरेका थिए । 

उम्मेदवारी दर्ता गराउने क्रममा माओवादी केन्द्रका नेतासमेत रहनु भएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा, कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, एकीकृत समाजवादीका नेता कृष्णप्रसाद शर्मा खनाल, मुनु सिग्देललगायतका नेता तथा प्रदेशका मन्त्रीहरूलगायतको उपस्थिति रहेको थियो ।