• १३ साउन २०८१, आइतबार

आधुनिक ढङ्गबाट कृषि उत्पादन वृद्धि गर्न आवश्यक : सभामुख घिमिरे

blog

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे । फाइल तस्बिर

काठमाडौं, पुस २३ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक ढङ्गबाट अघि बढाइ उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

सोमबार काठमाडौँमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको १६ औँ साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही वर्ष अघिसम्म नेपाल कृषिमा आत्मनिर्भर रहेको भएपनि पछिल्लो समय कृषिमा परनिर्भर बन्दै गइरहेको बताउनुभयो ।

सभामुख घिमिरेले व्यक्तिले मात्रै कृषि क्षेत्रको उपार्जन गर्ने र उत्पादकत्व वृद्धि गर्नेकुरा सम्भव नरहेकाले सबै मिलेर कृषिमा आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रलाई राज्यले दिनुपर्ने प्राथमिकता र कृषि क्षेत्रलाई समेत समेटेर बनाइएको सहकारी ऐन, २०७४ पछि पनि कृषिमा कुनै प्रभाव नपरेको जानकारी दिनुभयो । उहाँले सहकारी क्षेत्र बचत तथा ऋणको कारोबार गर्ने किसिमको मात्रै हुनु नहुने जिकिर गर्नुभयो ।

‘‘नेपाल कृषिप्रधान मुलुक हो । केही वर्षअघिसम्म मात्रै पनि हामी कृषिमा आधारित जीविकोपार्जन गर्दथ्यौँ भने कृषिजन्ज्य सामग्री निर्यात गरेर हाम्रा अन्य आवश्यक वस्तु आयात गर्ने र देशको अर्थतन्त्र धान्ने काम गरेका थियौँ । तर केही दशकअघिबाट कृषिको क्षेत्रमा पछि परिरहेका छौँ । यस्तो बेलामा व्यक्तिगत ढङ्गबाट हामी किसानहरूले कृषि क्षेत्रको उपार्जन गर्ने र उत्पादकत्व वृद्धि गर्ने, राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रूपबाट यसलाई निकास दिने र हाम्रा मान्यतालाई पूरा गर्दै, हाम्रा अपेक्षा पूरा गरेर राष्ट्रिय आर्थिक स्थिति मजबुत पार्ने र स्वावलम्बनको दिशामा राष्ट्रलाई उन्नति गर्ने काम गर्न सकिँदैन ।,’’ सभामुख घिमिरेले भन्नुभयो, ‘‘यो कुरालाई ध्यानमा राखेर किसानहरूको बिचमा साना, किसान सहकारीहरू निर्माण गर्ने र विभिन्न विषयमा सहकारी संस्थाहरू बनाउने र यसको माध्यमबाट अघि बढ्ने सन्दर्भमा पनि यो कृषि, सहकारी राष्ट्रिय केन्द्रीय सङ्घको स्थापना भएको छ ।’’

सभामुख घिमिरेले कृषिलाई आधुनिक ढङ्गबाट अघि लैजाने, बाँझो जमिनलाई उर्वर बनाउने कुन ठाउँमा के कुरा उत्पादन गर्ने ? यसको बजारीकरण कसरी गर्ने र सम्भव भएसम्म कृषिलाई यान्त्रीकरणबाट अघि बढाउने बारेमा अध्ययन हुन जरुरी रहेको बताउनुभयो ।

सभामुख घिमिरेले सरकारले किसानहरूलाई आफ्नो नीतिअन्तर्गत समेट्नलाई तीन खम्बे अर्थनीति लिएर सहकारीको माध्यमबाट, राज्यले लगानी गर्ने र निजी क्षेत्रलाई पनि समावेश गर्ने सिद्धान्त अपनाएर प्रभावकारी रूपमा काम गर्दै जानुपर्ने बताउनु भयो । उहाँले सहकारी आन्दोलनलाई प्रभावकारी ढङ्गबाट अघि लैजान र छरिएर रहेका किसान, साना किसानहरूलाई एक ठाउँमा ल्याइ काम गर्न आग्रह गर्नुभयो ।