• ८ मंसिर २०८१, शनिबार

गद्दीको सपना (कथा)

blog

जुँगेमुठे ठान्दारले जुँगा मठार्दै करायो–“मासाला अतभातेहरु तिमीहरुलाई काठमाडौँ पैदल चलान कसरी भने, एक चौकीबाट अर्को चौकीसम्म हुलाकीले चिठीपत्र र हुलाक बुझाएझैं बुझाउने   हो ।” तम्तयारी अवस्थामा उभिएका तीनजना राइफलधारी तर्फ फर्केर आदेश दियो,“बुझ्यौ केटाहरु ।” “बुझिम् साप ।” भनेर सलाम ठोक्दै तनक्क तन्किए । ठान्दारले निधारमा हात मल्दै भन्यो “कतै भाग्न खोजे त्यहीँ गोली ठोकेर गाडिदिनु । अत जाओस् तर गोली खेर नजाओस् । लौ हिंडिहाल ।” फूर्तिसाथ प्रहरीहरुले राइफल लोड गरे । प्रत्येकको पछाडि एक प्रहरी र उसले बोकेको थ्री नट थ्री राइफल, ६–६ राउन्ड गोली सहित टोली चलान भयो । 

हिउँदे यामको जाडोले कब्जा जमाइसकेको थियो । लगातारको हिँडाइले खुट्टामा जमेका फोकाहरु फुट्दै र सुक्दै गए । हिँड्दा...हिँड्दा यस्तो लाथ्यो यो जङ्गल कहिल्यै नसकिने हो कि । जब पातलिँदै गएका रुखहरुका चरबाट घामका छिट्नाहरु छरिन्थे । अनि मन ढुक्क हुन्थ्यो यो वन पनि पार गरियो । तर हामीभन्दा अगाडि बढ्दै भाग्ने हुलाकीमार्गको टुङ्गो कहाँ थियो कहाँ । वाक्कदिक्क एवं अत्यासिला नागबेली मैदानहरुमा नेलका छिन्द्रिङछिन्द्रिङ आवाजहरुले सुनसान पाखाहरु धकेल्थे । काँधमा धोक्राे र हातमा चाँपको झुप्पोले बेरिएका भाला टेक्दै छम्छमछम्छम् झुलुक्क कहिले कसो देखिने हुलाकीहरुसँग हेराहेरको भेटमा विपरित दिशामा हामी अल्पिन्थ्यौं । 

हिडाईको तेस्रो दिन, कागुनोको लेक उक्लिँदा उक्लिँदै भोको जठराग्नि दन्किन लाग्यो । घिस्रिदै र बामे सर्दै टुप्पोमा पुगियो । सबै डर्लङ्ग पसारिएर अघि बढ्ने त्राण भएन । अर्को चौकीमा हामीलाई हस्तान्तरण नगरेसम्म पेटमा अन्न पर्ने सम्भावना थिएन । “बाजे बाजे उठ्नुस् ओरालो सकिएपछि चौकी आउँछ अनि थकाई मारौंला । ल..ल..हिँडिहालौं ।” सिपाहीले सचेत गराए । हामी हलचल गर्न सकेनौं । हाम्रा सुरक्षाकर्मी हाकिमहरु जस्ता दयाहिन थिएनन् । कोल्टे परेर चारैतिर नजर घुमाउँदा लगभग सय पाइला पर आँखा पुग्यो । एकाएक बोली फुट्यो “ऊ..ऊ.....मेल..   मेल ।” पाकेका लटरम्म कालाकाला मेलहरु हावामा झुल्दै थिए । मेलका दानाहरुको पेटभराइले अमृतको काम गर्‍यो । बाबाले लामो सुस्केरा छोड्दै भन्नुभो “अब बाँचियो । शरीरमा प्राण सञ्चार भयो ।” दाजुले खुशी हुँदै भन्नुभयो “बुबा हामी बाच्यौं । एक मुठी सास पनि हाम्रो कति चाम्रो हुँदोरहेछ । काँ अड्केर बसेको होला ।”

पाँचौ दिनको बिहानीपख भालेले डाँको छोड्यो “कुखुरीकाँ” । एकहुल मलेवाका बथान छरिँदै गएर पूर्वतर्फ उड्दै गए । टाढा कता हो मन्दिरको घण्ट बज्यो टनटनटन । बाबा बोल्नुभयो “जय पशुपतिनाथ ।” एकैस्वरमा सबैले बोले “जय पशुपतिनाथ ।” अब बाबाले कुरा गर्न थाल्नुभयो “सुन, रुपान्तरणले सधैं बलिदान माग्छ । हामीले स्वतन्त्रतासँग विवाह गरिसकेका छौं । यी नेलहतकडीहरु हाम्रा आङका आभुषणहरु, बाला, कल्ली  र पाइजेप हुन् । विचारको नियन्त्रण सबैलाई स्वीकार्य हुँदैन ।” हाम्रो मनमा बेग्लै प्रकारको हौसला जागेर पाइलाहरु बढी चल्न थाले । भुसुक्क रात पर्दा हामी राजधानी पुग्यौं । फिउसको कोट्टोथालमा भात सर्काउँदै उपहासपूर्ण अन्दाजमा सिपाहीले भनि भ्यायो “ल खाओ अतहरु । भोलि काटिने खसीहरुलाई आज पेटभरि दिनुपर्छ” । भोकको प्रचण्ड वेगमा उसिनाचामलको भात र खोस्टा दाल पनि कति मिठो ।

भोलिपल्ट हनुमानढोका प्रहरी कार्यालयको प्राङ्गणमा हामीसहित अन्य पाँचजना राजबन्दीलाई नाङ्गै पारेर खडा गरे । गोडधोइमा उपयुक्त हुने जस्तो तामाको खड्कौंलो भरी चिसो पानी र एक अँगालो झरिलो सिस्नाको आँठो तयारी अवस्थामा देख्दा आङ सिरिङ्ग भयो । एक जना हवल्दारको कमाण्डमा चार हतियारबन्द प्रहरीहरु परिसरको बायाँपट्टिको कुनामा चनाखो अवस्थामा उभिएका थिए ।

झण्डा फरफराउँदै रसियनजीप मूल ढोका भित्र प्रवेश गर्ने बित्तिकै डिआइजि दौडे । डिआइजिले जिपको ढोका खोल्दै सलाम गरे । बागमती अञ्चलाधिस, एकचार गारदको लगभग सात कदम समिप आइपुग्दा  डिआइजिले संकेत गरे । हवल्दारले चिच्याएर कासन दियो “सामेल, सिधा नजर ! गे्रकोट, ग्रेदौरासुरुवाल र कालो जुत्तामा अञ्चलाधिश गारद अगाडि सिधा उभिए । “सम्मान गारद सतर्क होला.... सतर्क” “सम्मान गारदले काँधशस्त्र गर्ला... काँधशस्त्र” “सम्मान गारदले अर्पणशस्त्र गर्ला.... अर्पणशस्त्र” “सम्मान गारदले साथशस्त्र गर्ला.... साथशस्त्र” हवल्दार अब नजिकै गएर अञ्चलाधीसलाई जाहेर गर्यो “श्रीमानको केही आदेश ?” “अहिले छोड्दे.....तितरबितर गरेर उ त्यहाँ सिस्नुपानी छेउ उभ्भे” उसले स्यालुट हानेर गारद नजिक पुगेर करायो “दाइना मुड.... अगाडि बढ.... लेफ राइट.... लेफ राइट.... तितरबितर”  अञ्चलाधीसले सलामी खाएर बिचको कुर्सीमा आई थचक्क बसे । 

डिआइजी जुरुक्क उठ्यो । एक...एक लात हानेर हामी सबैलाई ढाल्यो । “टोपाराम ठोक मर्ने गरेर राँडीफुँडीका छोरा अतहरुलार्ई ठोक । आफ्ना चिम्सा आँखाहरुलाई तरेर ठुलो पार्ने कसरत गर्दै ऊ बस्यो । हवल्दार तनक्क तन्कि सलाम ग¥यो । “हस् साप” दाहिने हातलाई बोराले लपेटेर सिस्नोको आँठो चोपल्न थाल्यो । “पछाडि फर्कि तँ सबै अतहरु...मा झ्याक्ने ।” सिस्नो न लगाउँदै सबैको आङमा कम्पन छुटिसकेको थियो । उसका गोलगोल राताराता आँखाहरुमा भूत चढिसकेको हुँदा उसले आँखाकान केही देखेन । 

बाबाले भनेको सम्झेँ “नपढेर स्कुलबाट हाफछुट्टीमा भाग्ने, लगाउँ तलाई सिस्नोपानी ।” अहिले त साँच्चिकै नाङ्गोजीउमा सिस्नोपानी नाचिरहेको थियो । ओहो ! यस्तो रहेछ सिस्नोपानीको डसाई अनि आँखा वरिपरि कालो सर्प नाच्न लाग्यो । होस गुमभई दौडन खोज्दा नेलहतकडीको अल्झोले भूईमा भङग्रङ पछारियौं । उसको तालिमे हात चलिरह्यो । शरीरभरि फोकैफोका बेलुन भएर फुल्न थाले । “ऐया..ऐया....पानी...पानी...।” अब्ब प्राण हिरिक्क जान्छ कि भयो । पछाडिपट्टिबाट ठुलो स्वर आयो “टोपाराम रोक अब, तेरा जारभतारहरु मर्लान्...।” “हस् अञ्चलाधीस साप ।” “ऐया..ऐया...पानी...पानी ।” 

अञ्चलाधीस वरिपरि टहल्न लागे । पलाञ्चोके छालाको बाघकाने चुइकिने जुत्ता चुई...चुई..चुई उनको पदचाप सँगसगै चुइकिन थाल्यो । “ऐया...ऐया ।” अञ्चलाधीसको पारा झन चढ्न थाल्यो  “अझ तिमीहरुलाई डोज पुग्या छैन । सबै नेपालीको प्राणभन्दा प्यारो श्री ५ नरेशको गाथागादी ताक्ने मासाले उग्रवादी अराष्ट्रिय तत्वहरु तँ जस्ताहरुलाई टुँडिखेलमा लगेर खरीको बोटमा झुण्ड्याउनुपर्छ । ओहो...यस्का त दुई छोरा र आफूसमेत एकैघरका तीन जना अत क्या गजब छ बा ...। ऐ टोपे, के लाटोले केरो हेर्‍या जस्तै गरी उभ्याछस् यी तिनै जनालाई लगा डब्बल सिस्नुपानी ।” मृत्युनाच फेरी सुरु भयो । नाचसँगसँगै उनको चुइकिने जुत्ता चुइकिँदै गयो । भूईमा लम्पसार परेर ढाड घिसार्न लाग्यौं । अब त प्राण फुत्क्यो भन्ने लाग्यो । “रोक टोपाराम, अहिलेलाई डोज पुग्यो ..।” दायाँतर्फको कुनोबाट डिआइजी चिच्याए “क्या बात टोपे स्वावास । यसपाली तेरो काँधमा एक फुली थप्छु ।” उसले सलाम तनक्क ग¥यो । हरे, घाइते शरीर, भोको पेट र त्यसमा थप अञ्चलाधीसको भाषण कहाँ अटाउने होला? “मुलुक र रैतिप्रति सँधै चिन्तित होइबक्सिने मौसुफबाट बक्स भएको महावाणीमा सबै नेपाली पञ्च र सबै पञ्च नेपाली हौं । पञ्चायती ब्यवस्थाको मूलप्रवाहमा सबै मिलेर अगाडि बढौं भन्ने मूल मन्त्र मनन गर्नुपर्दैन मोरा अत माझ्याक्नेहरु बाँकी तिमी मुट्ठीभर, काङ्ग्रेसे कम्निष्टे अतहरुलाई ठेगाना लगाइन्छ ।” 

डिआइजीले खुसामद गर्दै भन्यो “अञ्चलाधीस साप, पढीपढी धेरै पढीकन यिनीहरुको गिदीमा कीरा परिसकेको छ हजुर ।” उसले विद्यार्थीतर्फ हेरेर दुत्कार्‍यो “थुइकक बाख्रिबूढीका छोराहरु, यस्ता खाइलाग्दा तिमीहरु पुलिस रिपोर्टको कालोसूचिमा दर्ता भइसक्यौ । भविष्यमा नोकरीको सपना नदेखे पनि भो च..च.. । प्रजावत्सल मौसुफ सरकार हाम्रो प्राणभन्दा प्यारो होइसिन्छ । आकाशमा चन्द्रसूर्य रहेसम्म अटल रहिबक्सिनेछ । बुझ्यौ ? के बुझ्यौ मलामीका भारी हो ...।” यसैबिच सेतो दौरा सुरुवाल र कालो कोटमा एकजना हस्याङफस्याङ गरी आएर नमस्कार गर्‍यो । आँखाको ताल सर्लक्क उचालेर अञ्चलाधीसले “के हो ?” भने । एकदम उत्साहित भएर उसले बेलिविस्तार लाउनथाल्यो “श्री ५ को आगामी जुम्ला भ्रमणमा सबै बन्दोबस्त गर्नु गराउनु भनेर सम्बन्धित व्यक्तिहरुसँग आ.वा. मा कुरा गरी त्रिपुरेश्वरबाट आएँ हजुर ।” “सरकारको सवारीका लागि उतातिर सबै ठीकठाक छ मधुसुधन ?” ऊ अझै हौसिदै ओकल्न थाल्यो, “सबै कुराको चाँजोपाँचो मिलाइसकेको छु हजुर । रारा नजिकको जङ्गलमा मौसुफ सरकारको लागि शिकारको व्यवस्था, सरकारले ज्यूनार गर्ने भान्छामा अब्बल दर्जाको मार्सिधानको भूजा, तित्राको झोल, मजुरको फलमासु, कालिजको पकवान मासु, खसीको कवाव, बट्टाईको भुटुवा, सागसब्जि, पाँचथोक दाल, आदि अन्य कुराहरु नटुटाईकन व्यवस्था गर्नु भनेर त्यहाँको अञ्चलाधीस, सिडिओ, वन हाकिम र पञ्चहरुलाई आदेश जारी गरिसकेको छु हजुर । अँ सरकारको गाथमा दिनमा तीन पटक तेलारीको व्यवस्था पनि..।” 

“अँ हजुर अर्को कुरा काठमाडौँबाट २५०० बोट काउली र ३५०० बोट बन्दा हेलिकप्टरबाट जुम्लामा पठाईभ्याएँ । मौसुफ सरकारलाई त्यो सबै जुम्लामा खेती गरिएको हो भनेर नजर गराउने रे...।” अञ्चलाधीसको गोलो अनुहार रातो हुँदै गयो । ऊ अझ रोकिएको थिएन । “कोही कसैले शान्तिसुरक्षामा खलल पुर्‍याउने संकेत पाए मात्र सासुमा जाकिदिनु भनेर भ्याएँ हजुर ।” “ए..चुप...चुप गधा तैंले जागिर खाएको कति वर्ष भो मास्यार्ने भाते ।” ऊ एकैचोटी तल झरेर खङग्रङ्ग भयो । “हजुर पन्ध्र वर्ष, के गल्ती विराम भो मबाट हजुर ।” “अझै के गल्ती भो ? तेत्रो वर्ष नोकरी गरेर के सिकिस् ए, नाथे ? कुन कुरा कहाँ भन्नुपर्छ, के गोप्य कुरा हो,  जहाँ पायो त्यहीँ ओकल्दै हिँड्ने । तँलाई कल्ले मेरो पि.ए. मा सिफारिस ग¥यो ? आजैदेखि गैहाल ।” “हजुर माफ पाऊँ बिराएँ एकपल्टलाई हजुर ।” “जा जा गैहाल अझ टेर्दैनस् । जाकिदिउँ तँलाई ?” जसरी हौसिएर आएको थियो उसैगरी तर्सिएर ऊ टाप ठोक्यो । 

एकछिनको जीवन्त प्रहशनले बन्दीहरुको दुखाई कम भएर आर्तनाद रोकियो । तर अञ्चलाधीसको पारा हामीमाथि खनिन लाग्यो । “अँ त्यो गधाले एउटा कुरा सम्झाएर गयो के रे.. सासुमा जाकेर तिमीहरुलाई जेलमा सडाइदिन्छु अब । कसो डिआइजी साब ?” “सोरैआना ठीक हजुरकै तजवीजको हो, शान्तिसुरक्षाको दफा लगाएर नौ..नौ.. महिना थप्दै जाँदा पूरा आयु जेलमै सकिन्छ । न्यायधिसको बाउको पनि केही लाग्दैन । सुन्यौ राँडीका बान अ.त. हरु...।” एकजना विद्यार्थीले साहस गर्दै बोल्यो “हाम्ले राजाको विरोध गर्‍या होइनौं तर व्यवस्थामा अलि सुधार....।” “के सुधार कस्तो सुधार ? अझ कस्तो व्यवस्था चाहियो ?” “शासन व्यवस्थामा जनताको पनि सहभागिता र सबैलाई संविधानभित्र....।” वाक्य पूरा नहुँदै अञ्चलाधीस पड्किन थाले “तिमीहरुले दिएको खाने हो मौसुफले ? तैंले सिकाउनुपर्छ श्री ५ लाई ? लन्ठक स्वाँठ, विष्णुको अवतार मानेका छ जनताले सरकारलाई । हाम्रो देशको हावा, पानी र माटो सुहाउँदो निर्दलीय पञ्चायती प्रजातन्त्र मौसुफको असिम अनुकम्पाबाट बक्सभएको युगान्तकारी कदम हो । तिमी साले अ.त. झ्याक्नेहरुलाई अत्तोपत्तो केही छ ?” मलाई खपिनसक्नु भएर छातीसम्म आयो “अञ्चलाधीशज्यू, हावा, पानी र माटो सुहाउँदो त बालीनाली, खेतीपाती र बोटविरुवा पो हुनुपर्छ । आजको युगमा पनि हुकुमप्रमाङ्गिबाट सत्ता चलाउनु सधैं सम्भव छ ? व्यवस्था र शासन जनता र विधिको विधानबाट चलाउने हो...।” बोलाई पूरा नहुँदै पछाडिबाट चुइकिने जुत्ता ढाडमा बर्सिहाल्यो । “तेरी मासाले अराष्ट्रिय तत्वहरुको नाइके सरदार यही पो रहिछ । मा...चिसलाई...ए टोपाराम लगा बेतको गोर्खे लौरो ।” सिस्नोपानीले थिलथिलोभइ फूलेकोआङमा बेतको लौरो परेड खेल्न लाग्यो । “ऐया...ऐया..पानी...पानी मरे बा ...।” जीउ पूरा काप्दै जमीन घुम्न थाल्यो । बाबा कराउनुभो “सर ...मेरो छोरो अब मर्छ...रोक्नुस् म पनि  यही अनसन गरेर मर्छु ।” “ए भयो ...पुग्यो...लतारेरभित्र कालकोठरीमा जाक । बाँकीहरुलाई घोक्र्याउँदै भित्र लगेर सबैलाई २४ घण्टा ठेट्कोमा कुरमुर्‍याउनु....ए सुनिनस टोपे...।” “हस् हजुर ।” “अँ गुमुत भयो भने भित्र मास्यार्नेहरुलाई सोर्न लगाउनु ।” 

भित्र लतारेर पुर्‍याउँदासम्म मेरो चित्त हराइसेकेको थियो । शरीर कहाँ हो कहाँ नदीमा तैरिरहेको जस्तो भयो । समय टक्क अडिएर चकमन्न थियो । सपना हो कि विपना पहल्यिाउन सकिएन । न त्यहाँ दिन थियो न रात । न दृष्टि न आवाज न स्वाद न स्पर्श र न गन्ध । न प्रेम न घृणा । सबै चिजबीजहरुले खामोस खाए । कताहो कता बोलेको सुनियो । “राजाको गादी पाउने सपना देख्नु के सम्भव कुरा हो...त्यस्सै बेफ्वाँकमा ज्यान फाल्न तम्सेका यी अत...। यो त हलचल गर्दैन । के मरिसक्यो कि क्या हो ..। ..ए...ए. ओ...अत...ए ..अ.त....।”

   

Author

रमेश जंग थापा