मानवलगायत सम्पूर्ण जैविक जगत्को उत्पत्ति एवं विकास कसरी भयो र कसरी चलिरहेछ ? यो सांसारिक प्रपञ्च किन छ ? कुन प्रयोजनका निमित्त छ ? मानव जीवनको प्रयोजन र लक्ष्य के हो ? यस्ता प्रश्नहरूबारे जिज्ञासा राखेर लेखिएको दर्शनको पुस्तक हो ‘जिज्ञासा’ ।
जीवन र जगत्बारे अनेकौँ जटिल प्रश्नका विषयमा सत्यको खोजी गर्ने उद्देश्य दर्शनले राखेको हुन्छ । यही सत्यको खोजीका निम्ति गणितशास्त्रका विद्वान् अनुसन्धाता प्राध्यापक डा. होमनाथ भट्टराईले पूर्वीय दर्शन र पाश्चात्य दर्शनको समुचित चिनारी र विश्लेषण गर्दै
‘जिज्ञासा’ नामक दर्शनशास्त्रको पुस्तक प्रकाशनमा ल्याएर नेपाली जिज्ञासु पाठकहरूलाई राम्रो बौद्धिक खुराक प्रदान गर्नुभएको छ । पुस्तकमा दर्शनशास्त्रको विकासक्रमको प्रारम्भिक कालदेखि पूर्वीय (भारतीय) दर्शन, पाश्चात्य दर्शन तथा चिनियाँ दर्शनको चिनारी दिनुका साथसाथै पर्सिया अर्थात् वर्तमान इरान क्षेत्रमा प्रतिपादित जरथ्रुस्त दर्शन र यहुदी, इसाई एवं इस्लाम धर्मले देखाएको दर्शनबारे पनि चर्चा गरिएको छ ।
भारतीय दर्शन नाम दिइएको पूर्वीय दर्शनभित्र वेद (ऋग्वेद, यजुर्वेद, सामवेद, ब्राह्मण ग्रन्थ र अथर्ववेद), उपनिषद्, भगवद्गीता, महाभारत तथा रामायण, मनुस्मृति, लोकायत (चार्वाक), जैन, बौद्ध र न्याय दर्शनका अतिरिक्त वैशेषिक, साङ्ख्य, योग, पूर्वमिमांसा, उत्तरमिमांसा, शङ्कराचार्यको अद्वैतवाद, आचार्य रामानुजको विशिष्ट द्वैतवाद, मध्वको द्वैतवाद, निम्बार्कको द्वैताद्वैतवाद, वल्लभको शुद्धाद्वैतवाद, वैष्णव, शैव तथा शाक्त सम्प्रदाय, पुराण र आधुनिक भारतीय दर्शनलाई समेट्दै तिनको सारसङ्क्षेपको ज्ञानलाई उपस्थापन गरिएको छ । यसै गरी पाश्चात्य दर्शनभित्र आयोनियाका भौतिकशास्त्री, सुकरात, प्लेटो, अरस्तु, एपिक्युरस, स्टोइकवाद, संशयवाद एवं सारसङ्गहवाद, यहुदी–ग्रिक दर्शन, नवप्लेटोवाद, मध्ययुगीन इसाई धर्मदर्शन, सेन्ट अगस्टिन, मध्ययुगीन कोलास्टिक दर्शन, अरब संसारको इस्लाम धर्म–दर्शन, सेन्ट थमस र एक्विनाससम्बद्ध दर्शनको परिचय दिँदै पुनर्जागरण एवं पुनर्जागरण कालको समुचित चर्चा गरिएको पाइन्छ ।
साथसाथै आधुनिक दर्शन अन्तर्गत फ्रान्सिस बेकन, थमस हब्स्, रेने डेकार्ट, बेनेडिक्ट स्पिनोजा, जान लक, जर्ज बर्कले, डेभिड ह्युम, गट्फ्रिज लिब्निज, इमानुएल कान्ट, जोहान गट्लिब फिच्टे, फ्रेडरिख शेलिङ, जर्ज हेगल, जोहान फ्रिडरिक हर्बर्ट, आर्थर सोपेनहावर, कार्ल माक्र्स, अगस्त काम्टे, जन स्टुअर्ट मिल, हर्बर्ट स्पेन्सर, थमस ग्रिन, फ्रान्सिस ब्राड्ली, अन्स्र्ट माख, विलियम जेम्स, फ्रेडरिक नित्चे, हेनरी बर्गरसनसम्बद्ध दर्शनको परिचय प्रस्तुत गरिएको छ भने प्रबोधन र दर्शन, भौतिकवाद एवं विकासवाद तथा आदर्शवादविरुद्ध यथार्थवादको चर्चा भएको छ ।
उपसंहारमा पराभौतिकी, आत्मा, ईश्वर, विज्ञान : ब्रह्माण्ड र यसको उत्पत्ति, सापेक्षवादको सिद्धान्त, ब्रह्माण्डको फैलावट, जीवको उत्पत्ति र विकासवादी सिद्धान्त जस्ता उपशीर्षकमा दर्शनद्वारा प्रतिपादित विषयहरू उपस्थापित गर्दै धर्मशास्त्र, दर्शन एवं विज्ञानको सन्दर्भसापेक्ष चर्चा गरिएको प्रस्तुत दर्शनशास्त्रभित्र रहेका यावत् पक्षहरूको सारसङ्क्षेप देखाइएको एक महìवपूर्ण र पठनीय कृति हो ।
यस कृतिमा लेखकले प्रस्तुत गर्नुभएका निम्न लिखित मननयोग्य भनाइद्वारा पाठकको मनलाई आकर्षित गरिएको छ– १.“मानव इतिहासको केही शताब्दीको समयावधिभित्र संसारका विभिन्न क्षेत्रमा समानान्तर रूपमा प्रादुर्भाव भएका विभिन्न धर्म एवं दर्शनहरू कसरी विकसित हुँदै गए, के कस्ता नयाँ अवधारणाहरू थपिँदै गए र विभिन्न प्रकारका दर्शनको उदय भयो ? त्यसको क्रमिक विकासको इतिहास महìवपूर्ण मात्र नभई रोचकसमेत हुनु पर्छ । यसको सामान्य अध्ययनबाट प्रारम्भमा राखेका जिज्ञासाको समाधान होला वा नहोला, जीवन एवं जगत्को यथार्थ सत्य के हो ? त्यसको ज्ञानका लागि मानवले इमानदारीपूर्वक गरेको प्रयत्न र त्यसमा रहेका समस्याको पहिचानले मात्र पनि ज्ञानको क्षेत्र थोरै मात्रामा भए पनि फराकिलो हुने र त्यसबाट केही आत्मविश्वास गर्न सकिन्छ ।”
२– “शास्त्रहरू विभिन्न छन्, त्यसको व्याख्या गर्ने ऋषिमुनिहरूका मत भिन्नभिन्न छन्, कुनै पनि ऋषिको मत सर्वमान्य छैन, धर्मको तìव गुफामा लुकेको छ, जता महाजन जान्छन् त्यही मार्ग हो ।” अहिले पनि युधिष्ठिरले उहिले व्यक्त गरेको यस्तो भनाइ चरितार्थ हुने देखिन्छ । तथापि जीवन एवं जगत्सम्बन्धी मानव जिज्ञासा एवं सोसम्बन्धी ज्ञान प्राप्त गर्ने उसको प्रयास निरन्तर जारी रहने छ ।
विसं २००१ असारमा अर्घाखाँची जिल्लाको सन्धिखर्क, पटुवाथुममा जन्मिएर औपचारिक रूपमा गणितशास्त्रमा स्नातकोत्तर उपाधिपश्चात् लामो समय प्राध्यापन गरी विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका उपकुलपतिको अनुभवसमेत हासिल गर्नुभएका प्राध्यापक होमनाथ भट्टराई (विद्यावारिधि) को दर्शनसम्बन्धी अध्ययन, अनुसन्धानको निचोड प्रस्तुत भएको यस कृतिलाई नेपाली वाङ्मय जगत्ले उपलब्धिपूर्ण उपहारका रूपमा ग्रहण गर्ने विश्वास गर्न सकिन्छ ।