आदिगायिका मेलवादेवी; जो एउटा लामिछाने गुरुङ परिवारमा नेपालको पूर्वी जिल्ला ओखलढुङ्गाको रुम्जाटारमा जन्मनुभएको थियो तर दुःखद तथ्य उहाँको जन्म महिना र गते आजपर्यन्त प्राप्त छैन । पिता ज्ञानबहादुर र माता सप्तदेवी गुरुङबाट विसं १९५४ सालमा उहाँको जन्म भयो र सुनमायाको नामले बोलाउन थालियो । यति हो, उहाँको जीवनीको उद्गम पाटो । यो जन्मसाल पनि तत्कालीन श्री ५ को सरकारले निकालेको हुलाक टिकटलाई आधार मानेर मात्र उल्लेख गर्न सकिएको हो ।
अत्यन्त सुन्दरी बालिका हुनुहुन्थ्यो सुनमाया र जति राम्रो उहाँको अनुहार र सुडौल शरीर थियो, त्यति नै कोकिलकण्ठी र कर्णप्रिय स्वर पनि । गाउँको हरियाली र सुन्दर परिवेशलाई न्याय गर्दै उहाँले अत्यन्त सुन्दर गलाको प्रयोग गर्दै लोकगीत गाउन थाल्नुभयो तर बाबु ज्ञानबहादुरले सुनमायालाई बालिका अवस्थामै छाडेर युवावस्थामै मृत्युवरण गर्नुभयो । गाउँघरमा आयोजना हुने रोदीघर कार्यक्रममा रोदी गाउँदागाउँदै उहाँको गायकीले अझ मौलाउने मौका पायो । गाउँमा एकाएक सुनमायालाई तत्कालीन श्री ३ चन्द्र शमशेरकहाँ सेविकाका रूपमा पठाउने कुरा भयो । हुन सक्छ, त्यतिबेलाको त्यो स्थिति आजको डायस्पोरा प्रवृत्तिकै एउटा उदाहरण थियो होला । दिदी बलमाया गुरुङ र आमाको साथ लागेर कसैलाई डोकामा बोकाइमागेर उहाँ त्यतिबेलाको नेपाल भनिने काठमाडौँमा आएर चन्द्रशमशेरको दरबारमा भित्रिनुभयो ।
यसरी सुनमायाको जीवनमा आएका प्रथम युगान्तकारी पात्र रहे चन्द्रशमशेर । यो थियो विसं १९६६ साल । सुनमायाको बिछट्टै राम्रो स्वरबाट मन्त्रमुग्ध भएका चन्द्रशमशेरले उहाँको नाम मेलवादेवी राखिदिए भने उहाँको गायन प्रतिभाको बढोत्तरीका लागि दरबारिया उस्ताद पण्डित माधवप्रसादलाई खटाए । उहाँ गाउँदै जानुभयो दरबारमा, चन्द्र अझ गायनकलाबाट रिझिँदै गए । दैनिक रूपमा उहाँले चन्द्रशमशेरबाट एक सुका बक्सिस पाउनुहुन्थ्यो । उहाँमा यौवनले पनि घर गर्दै गयो, यौवनले जसलाई पनि भुतुक्कै पार्ने क्षमता राख्थ्यो । यस्तो कलकलाउँदो यौवनबाट चन्द्रशमशेर पनि लट्ठै भएका थिए; जसले गर्दा दुवैबिच जानीनजानी प्रेमको बीज अङ्कुराउन थाल्यो । उहाँ चन्द्रशमशेरको खोपीमै पसेर गीत सुनाउन थाल्नुभयो ।
अत्यन्त कठोर अनुशासन हुने राणा दरबारमा उहाँ महाराजको खोपीमा सरासर पस्न पाउनुबाट पनि दुवैबिचको निकट सम्बन्धको आकलन गर्न सकिन्छ । दुवैबिचको सम्बन्धबारे दरबारमा हलचल पैदा हुन थाल्यो । उता यो हलचलबाट चन्द्रशमशेरकी कान्छी महारानी बालकुमारीदेवी निकै पीडित हुन थाल्नुभयो र आफ्नो सिउँदो बाँडिने डरले सुसारेहरूको साथ लिएर मेलवालाई दरबारबाट मात्र होइन, चन्द्रको जीवनबाट नै हटाउने उपायको खोजी गर्न थाल्नुभयो ।
बालकुमारीदेवीले मेलवाले नियमित रूपमा खाने गरेको बनारसी पानमा सिन्दुर मिसाएर खुवाउन सफल हुनुभयो । जसले गर्दा उहाँको स्वर एकाएक बोधो र धोद्रे हुन पुग्यो । हुन पनि हो, मेलवाको सुन्दर स्वर नै उहाँका पतिको मेलवाप्रतिको आकर्षणको कारक थियो । आफ्नी प्रेमिका र प्रिय गायिका मेलवाको स्वर यसरी बिग्रिएपछि नेपाल र भारतका मात्र होइन, बेलायतका समेत डाक्टरलाई बोलाएर स्वरलाई पहिलेकै अवस्थामा ल्याउने प्रयास गरे चन्द्रशमशेरले । केही सुधार त भयो पहिलाको अवस्थाको जस्तो स्वर ल्याउन सकिएन ।
यस्तै अवस्थामा बालकुमारीदेवीले दरबारका सारा सहयोगी र सुसारेलाई साथ लिएर मेलवालाई दरबारबाट निकाल्नुभयो । यसरी १९ वर्षसम्म झन्डै रानीसरहको सुविधा भोग्नुभएकी मेलवा चन्द्रशमशेरले सुरुमै बक्सिस दिएको विजेश्वरीको घरमा अब एक्लो र निरस जीवन बिताउन थाल्नुभयो । कहिले झन्डै रानीकै बराबरको जीवन र कतिपय अवस्थामा भोकभोकै दिन काट्ने मेलवाको जीवन कताकता मिथक जस्तो पनि लाग्छ ।
अब मेलवाको दुर्दान्त जीवन सुरु भयो र यस्तो दुर्दान्त जीवनमा दोस्रो अर्का पात्र उदाए भक्तकृष्ण श्रेष्ठ । उहाँका बाबु श्रीकृष्ण श्रेष्ठ तत्कालीन श्री ३ को दरबारमा हुने सङ्गीत महफिलमा रमाउने व्यक्ति थिए र बाबुकै पछाडि लाग्दै यदाकदा भक्तकृष्ण पनि दरबार गइरहनुहुन्थ्यो । उहाँले त्यहाँ थुप्रै पटक मेलवालाई देख्नुभएको थियो र मनमनै लोभिनुभएको थियो ।
उहाँ एक त विवाहित व्यक्ति हुनुहुन्थ्यो फेरि चन्द्रशमशेरले मन पराएका एउटी गायिका र सेविकासमक्ष त्यस्तो कुरा व्यक्त गर्न सक्ने सम्भावना नै थिएन । मेलवा विजेश्वरीमा बस्न थालेदेखि भने भक्तलाई सम्बन्ध बढाउन सजिलो भयो । क्षेत्रपाटीमा भक्तकृष्ण र विजेश्वरीमा मेलवा बस्नुहुन्थ्यो । उहाँहरू एक आपसमा भेटघाट गर्न थाल्नुभयो । आफू विवाहित भए पनि मेलवाप्रति लठ्ठ भएर उहाँले विवाहको प्रस्ताव राख्नुभयो ।
सुरुमा अस्वीकार गर्नुभएका मेलवालाई अन्त्यमा उहाँले पट्याउन सफल हुनुभयो । भक्तबाट मेलवाका चार छोराछोरी भए तर दुई छोरा सानैमा मरे । सात आठ वर्ष बितेको थियो उहाँहरूबिचको वैवाहिक जीवनको । यतिन्जेलसम्म जसोतसो चलेको उहाँहरूको दाम्पत्य जीवनमा एकाएक सौतेनी मामलाले विनाशक हुन्डरी ल्याइदियो । एकै ठाउँमा बस्न नसक्ने वातावरण आएपछि आफ्नी दुई छोरीका साथ विजेश्वरीको घरमा मेलवा फर्किनुभयो । भक्तकृष्णसँग अलग भएपछि मेलवाको जीवनमा दुर्गति सुरु भयो । एक्लो जीवन ससाना दुई छोरी । आयस्रोत शून्य । राणा दरबारबाट प्राप्त नगद र गरगहनाहरू पनि भक्तकृष्ण छँदै मासिएको थियो ।
शुक्रराज शास्त्री; जो समयपर्यन्त नेपालको प्रजातान्त्रिक आन्दोलनका पर्याय रहनुभयो । काठमाडाैँ र कोलकाता दुवैतिर बस्ने गथ्र्यो उहाँको परिवार । सबैको भलो चिताउने समाजसेवी व्यक्तित्व उहाँ मेलवादेवीलाई भक्तकृष्णको घरमा छँदै राम्ररी चिन्नुहुन्थ्यो । भक्तकृष्णसँगको सम्बन्धविच्छेद र मेलवाको अवस्थालाई उहाँले राम्ररी बुझ्नुभएको थियो ।
उहाँको नारी उत्थानप्रति समर्पित गीत न घरलाई घर कहिन्छ... नारी नै दरबार हो... लाई त्यतिबेला नै मेलवाले आफ्नो सङ्गीत कम्पोजिसन र भक्तकृष्णको वाद्यवादनमा अत्यन्त सार्थक स्वर भरिसक्नुभएको थियो । उहाँको गायकीलाई नजिकबाट चिनेका शुव्रmराजले कोलकातामा गएर आफ्नो साङ्गीतिक जीवनलाई निरन्तरता दिन अनुरोध गर्नुभयो । मेलवाले विजेश्वरीको घर बेचबिखन गरी नाबालक दुई छोरीका साथ कोलकाता प्रवासमा जानुभयो । यसैबेला हो उहाँको कालजयी गीत सवारी मेरो रेलैमा.....को सिर्जना भएको । यसरी मेलवाको जीवनको अर्काे अध्यायको सूत्रपात गर्नमा सहजीकरण गर्ने तेस्रो पात्रका रूपमा उदाउनुभयो शुक्रराज शास्त्री ।
कोलकाता त पुग्नुभयो मेलवा तर त्यहाँ तत्काल के गर्ने र कसरी आफ्नो जीवनरथ हाँक्ने भन्ने समस्या विकराल थियो । यो समस्यालाई हल गर्न शुक्रराज तम्सिनुभयो । उहाँले कोलकाताको रोबर्ट स्ट्रिटमा अस्थायी रूपले बस्नुभएका मेलवालाई जीवनका चौथो पात्रका बिचमा सेतु बाँधिदिनुभयो । चौथो पात्र हुुनुहुन्थ्यो पङ्कज मल्लिक । बङ्गाल रेडियो स्टेसनका निर्देशक मल्लिकले मेलवाको गीत सुन्नेबित्तिकै गायन क्षमताको आकलन गरिहाल्नुभयो । अब मेलवा सुलभादेवीका रूपमा परिवर्तन हुनुभयो र त्यही नामबाट नै गीत गाउँदै रेकर्ड गर्न थाल्नुभयो । मल्लिकमार्फत उहाँको सम्पर्क भयो कोलकाताको हिज मास्टर्स भ्वाइसमा जहाँबाट गायकी जीवनले सफलताको उन्नत सिँढी चढ्यो । एकपछि अर्काे गर्दै उहाँका गीतहरू रेकर्डिङ हुन थाल्यो । मल्लिकले सुलभा बनेकी मेलवालाई कोलकाताको बडाबजारमा रहेको मारवाडी बालिका विद्यालयमा सङ्गीत प्रशिक्षकका रूपमा काम दिलाउनुभयो ।
साथै सङ्गीत सिक्ने विद्यार्थीलाई ट्युसनको व्यवस्था पनि मिलाइदिनुभयो । बङ्गाली र हिन्दी भाषा, साहित्य, सङ्गीत र सिनेमा क्षेत्रका हस्ती मल्लिकको सुलभाको जीवनमा आएको आगमन कोसेढुङ्गा रह्यो । उहाँको ख्याति अब कोलकातामा मात्र सीमित रहेन । इलाहावादमा भएको सङ्गीत सम्मेलनमा उहाँले छायानटमा ३ घण्टासम्म लगातार ठुमरी गाएर त्यहाँका एकसेएक सङ्गीत उस्तादलाई छक्क पार्नुभयो ।
यसैबेला हो उहाँलाई ठुमरीका रानी भनी पदवी दिइएको । आफ्ना दुवै छोरीको विवाह पनि उहाँले गर्नुभयो । छोरीहरू आमालाई पनि साथमै राख्न चाहन्थे तर मेलवा आफू एक्लै कोलकातामा बसेर सङ्घर्ष गर्नुभयो । सङ्घर्ष अनुसारको उहाँको साङ्गीतिक छविमा पनि उन्नति हुँदै थियो ।
विसं २०१२ सालको मङ्सिरमा आफ्नै डेरामा मट्टितेलको स्टोभमा भात पकाइरहेका बेला स्टोभ पड्केर उहाँको दुःखद निधन भयो । अझ दुःखको कुरा उहाँको निधन भएको सात दिनपछि मात्र शव कोठाबाट उठ्न सक्यो त्यो पनि उहाँकै धर्मभाइको सहयोगमा । यसरी झन्डै दुई दशक कोलकाताको बङ्गाली सङ्गीतको संसारलाई हराभरा पार्ने नेपाली आदिगायिका मेलवादेवीको अन्त्य निकै दुखान्त शैलीमा भयो ।
ओखलढुङ्गा, काठमाडौँ र कोलकाता मेलवाका तीन कार्यक्षेत्र रह्यो भने चन्द्रशमशेर, भक्तकृष्ण, शुव्रmराज शास्त्री तथा पङ्कज मल्लिक उहाँको जीवनका माइलस्टोन पात्र । चन्द्रशमशेरको दरबार, बङ्गाल रेडियो स्टेसन, हिज मास्टर भ्वाइस तथा मारवाडी बालिका विद्यालय उहाँको जीवनका व्यक्तित्व विकासका क्षेत्रहरू रहे । अघि नै उल्लेख भइसकेको छ सुनमाया, मेलवादेवी र सुलभादेवी उहाँका तीन परिचय बने नामका अर्थमा ।
आउन बसाँै पियारी मिर्मिरे झ्यालैमा..., न घरलाई घर कहिन्छ..., सवारी मेरो रेलैमा..., हाय मेरो परदेशी प्रितम छाडेर जानुभो..., जिन्दगीको के भरोसा...लगायत थुप्रै गीत उहाँका रेकर्ड भएका छन् । नेपालमा छँदै लोकगीत, आधुनिक गीत, शास्त्रीय गीत र नेवारी गीत पनि गाउनुभएको थियो मेलवाले तर बनारसी पान काण्डपछि भने तारसप्तकमा गाउन सक्नुभएन । नेपाली सङ्गीतको इतिहासमा पहिलो पटक गीत स्वराङ्कन गर्ने महिलाको परिचय मेलवालाई प्राप्त छ भने रायगढ सङ्गीत सम्मेलनमा उहाँ सम्मानित हुनुभएको पनि थप इतिहास छ । काभ्रेको धुलिखेलमा उहाँको अर्धकदको प्रतिमा पनि स्थापना भएको छ ।