• १३ असोज २०८१, आइतबार

पन्चैबाजाको संरक्षणमा महिला

blog

वराहक्षेत्र समाचारदाता

वराहक्षेत्र, पुस २१ गते । पन्चैबाजा गाउँघरबाट लोप हुँदै गएको अवस्थामा यहाँस्थित सिंहवाहिनी पन्चैबाजा संरक्षण समूह बाजाको संरक्षण गरी आत्मनिर्भरसमेत भएको छ । 

वराहक्षेत्र नगरपालिका–७, देवीघाटका महिलाले पन्चैबाजा संरक्षण गर्न समूह बनाई गाउँघरमा हुने विवाह, व्रतबन्धलगायतका शुभकार्यमा पन्चैबाजा बजाउने गरेका छन् । गत वर्ष वराहक्षेत्र नगरपालिकाको आर्थिक सहयोगमा ३० दिन पन्चैबाजा बजाउन सिकेका महिलाले अहिले व्यावसायिक रूपमै पन्चैबाजा बजाउन थालेका सिंहवाहिनी पन्चैबाजा संरक्षण समूहका अध्यक्ष सुशीला उदासले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँका शुभकार्यमा पन्चैबाजाको माग हुँदा बजाउन जाने गरेका छौँ । घरमै बसेर दिन कटाउनुभन्दा बिहेको मौसममा राम्रै आम्दानी हुने गरेको छ । एउटा विवाहमा जाँदा दुरी हेरेर प्रतिदिन १५ देखि ३५ हजार रुपियाँ पारिश्रमिक लिने गरेका छौँ।”

भदौबाट पन्चैबाजा बजाउन सुरु गरेका महिलाले दुई लाख ५० हजार रुपियाँ बाजा बजाएरै आम्दानी गरिसकेको बताएका छन् । पन्चैबाजा बजाउन सिकेका महिलालाई विवाह, व्रतबन्ध, देवाली र पूजाहरूका लागि अग्रिम बुकिङ आउन थालेको छ । वराहक्षेत्र नगरमै छोटो समयमा पन्चैबाजा संरक्षण गर्ने उद्देश्यले स्थापित भएको महिलाहरूको समूहले राम्रो काम गरेको स्थानीय हिरण्य कार्कीले बताउनुभयो । 

नेपाली संस्कृतिमा विवाह, व्रतबन्ध, देवाली, यज्ञलगायतका शुभ कार्यमा पन्चैबाजा बजाएपछि साइत शुभ हुने विश्वास रहिआएको छ । ६६ वर्षको उमेरमा सहनाई फुक्न थालेकी राधा निरौलाले जीवनमा कहिल्यै नसमाएको बाजा बजाउँदा सुरुमा केही अप्ठ्यारो भए पनि अहिले सहज हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “पन्चैबाजा जोगाउनु पर्छ भन्दै सुरु गरिएको यो अभियानमा सबैको साथ सहयोग आवश्यक छ । परम्परागत रूपमै पन्चैबाजा संरक्षण गर्नु सबैको दायित्व रहेकाले सबैले हौसला दिनुभएको छ ।” सो महिला समूहसँग दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजा रहेका छन् । यस समूहका १३ महिलालाई विशेष गरी विवाहको मौसममा बाजा बजाउन भ्याइनभ्याइ हुने गरेको छ ।