• १३ असोज २०८१, आइतबार

कलाघरमा कलाशाला

blog

सिन्धुली, पुस २० गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिन्धुली कलाघरबिचको सहकार्यमा सुन्दर नेपाल कला कार्यशाला सुरु भएको छ ।

तीनदिने कार्यशालामा २१ कलाकारले सिन्धुलीको ऐतिहासिक धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको कुरालाई आफ्ना चित्रमार्फत प्रस्तुत गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारद हार्तम्छाली, उपकुलपति लालकाजी लामा तथा देशका विभिन्न प्रदेशका कलाकारको उपस्थिति रहेको थियो । 

कार्यक्रम उद्घाटनका क्रममा कुलपति हार्तम्छालीले कलाघर देशकै नमुनाका रूपमा रहेको बताउनुभयो । उहाँले कलाघरले सिन्धुली मात्र नभई देशलाई नै कला, संस्कृतिमार्फत चिनाएको बताउनुभयो । आन्तरिक र बाह्य पर्यटक आकर्षण गर्न पनि कला र संस्कृतिको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । कार्यक्रममा कलाघर सिन्धुलीका अध्यक्ष सुमन मगरले कलाघरले नेपाली कला र संस्कृतिको जगेर्नाका लागि पाइला चालिररहेको बताउनुभयो । नाट्य, परम्परागत गीतसङ्गीतका क्षेत्रमा कार्यक्रम गरिरहेको भए पनि कलाका कार्यक्रम कमै गर्न सकिएकाले यो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । कार्यक्रमबाट सिर्जित कला कलाघर सङ्ग्रहालयमा सङ्गृहीत गरिने जानकारी उहाँले दिनुभयो ।

कार्यशालामा कलाकारहरू सुरक्षा वाग्ले, आशुराम खाय्जू, सुरेमा श्रेष्ठ, दीपेन्द्र नेपाली, केशवराज खनाल, कला लिम्बू, भीम श्रेष्ठ, बिके नरबहादुर महर्जन, सुमन थापामगर, डिबी राई, दामोदर बराल, विनोद लिम्बू, एनबी गुरुङलगायतले आआफ्ना चित्रकला प्रदर्शनी गर्नुभयो ।