रामेछाप, पुस १९ गते । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताउनुभएको छ ।
बिहीबार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित २७ औँ बेथान वीरता दिवस, सहिद स्तम्भ उद्घाटन तथा सहिद परिवार सम्मान कार्यक्रममा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “जनयुद्ध देशको मुक्ति र परिवर्तनका निम्ति महान् विद्रोह थियो । त्यतिबेला हामीसँग ठुलो शक्ति थिएन, तर महान् विचार थियो, ऐतिहासिक लक्ष्य थियो । त्यसका आधारमा नेपालको क्रान्तिले गुणात्मक उचाइ प्राप्त गर्यो । त्यसले नै देशमा महान् परिवर्तन सम्भव भएको हो ।’’
“हामी अहिले पनि क्रान्तिमै छौँ । क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ ।,’’ उहाँले भन्नुभयो, “हामी समाजवादको लक्ष्यमा छौँ । त्यसका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेका छौँ । यो क्रान्तिको शान्तिपूर्ण मोर्चा हो ।’’
प्रधानमन्त्रीले वर्तमान सरकार देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको र भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणले १० हजार मेगावाट विद्युत निर्यातको ग्यारेण्टी भएको बताउनुभयो ।
कार्यक्रममा बेथानका सहिदहरू तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनका परिवारजनलाई सम्मानका साथै सहिद स्मारकको उद्घाटन गरिएको थियो ।