• १३ असोज २०८१, आइतबार

पुसे पन्ध्र र देउडा सुदूरपश्चिमको पहिचान

blog

शिवा तामाङ

काठमाडौँ, पुस १६ गते । सुदूरपश्चिममा मनाइने पर्व पुसे पन्ध्रको अवसरमा आइतबार राजधानीमा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । 

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सो सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै पुसे पन्ध्र पर्व र देउडा गीत सुदूरपश्चिम क्षेत्रको पहिचानका रूपमा स्थापित भइसकेको बताउनुभयो । उहाँले सुदूरपश्चिमका सांस्कृतिक पर्वका बारेमा युवा पुस्तालाई जानकारी दिनुपर्ने र प्रवर्धनको आवश्यकता रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री चन्दले सुदूरपश्चिम क्षेत्रका विविध सांस्कृतिक सम्पदाको सङ्कलन सार्वजनिक गरी त्यस्ता सांस्कृतिक सम्पदाको प्रवर्धन र प्रचारमा कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो । सो अवसरमा वरिष्ठ कलाकार नन्दकृष्ण जोशीले करिब ४० वर्षपहिले रेडियो नेपालमा देउडा गीतको रेकर्ड गर्दा गीतको भाका र शब्दसमेत बुझ्ने व्यक्ति फेला पार्न गाह्रो पर्ने गरेको अनुभव सुनाउनुभयो । उहाँले पछिल्ला दिनमा डेउडा संस्कृति सबै नेपालीको संस्कृति हुने क्रममा रहेको बताउनुभयो । 

वरिष्ठ डेउडा गायक जोशीले डेउडा भाका झ्याम्म झ्याम्म गाएर २०६२/६३ सालको जनआन्दोलनलाई उचाइमा पु¥याउने काम गर्नुभएको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पेसा, व्यवसाय रोजगारका लागि आफ्नो ठाउँ छोडेर जहाँ बसे पनि संस्कृतिले एक ठाउँमा भेला हुने र जोड्ने अवसर प्रदान गर्ने बताउनुभयो । 

महरले सुदूरपश्चिम भाषा, कला, संस्कृतिका लागि विविधतायुक्त क्षेत्र भएकाले यहाँका कला, संस्कृतिको विकास, संवर्धनमा लाग्न सबैलाई आग्रह गर्नुभयो । सो अवसरमा कलाकारहरू नन्दकृष्ण जोशी, भोजराज भट्टलगायतलाई सुदूरपश्चिमको गीत/सङ्गीत कला संस्कृतिको प्रवर्धनका लागि पु-याउनुभएको योगदानको कदरस्वरूप प्रशंसापत्र प्रदान गरिएको थियो । 

कार्यक्रममा दीपा रोकाय, टेकबहादुर बोगटी,लगायतका थुप्रै कलाकारले सुदूरपश्चिमको संस्कृति परम्परालाई सम्झाउने गीत र नृत्य प्रस्तुत गर्नुभएको थियो । पुस १५ का दिन सुदूरपश्चिमका बासिन्दाले तिलको लड्डु, फर्सी, सक्खरखण्ड, पिँडालुलगायतका कन्दमूल उसिनेर खाने र रातभर जागाराम बस्ने परम्परा रहेकाले राजधानीमा सांस्कृतिक भेटघाटको आयोजना गरेको सुदूरपश्चिम कलाकार समाजले जनाएको छ ।