विसं २०७८ को १२ औँ राष्ट्रिय जनगणनामा १४२ जातजाति, १२४ भाषाभाषी र १० धार्मिक समूहको तथ्याङ्क आएको छ । त्यसमध्ये कुलुङ जाति पनि एक हो । यो तथ्याङ्कले वास्तवमै विविध जातजाति, भाषाभाषी र धार्मिक समूह आदिको साझा फूलबारी जनाउँछ ।
विसं २०७८ को राष्ट्रिय जनगणना अनुसार कुलुङ जातिको जनसङ्ख्या ३३ हजार ३८८ रहेको छ । त्यस्तै कुलुङ भाषा वक्ता सङ्ख्या ३७ हजार ९१२ र आफ्नो पुर्खाको भाषा ‘कुलुङ’ भनी लेखाउनेको सङ्ख्या ४० हजार ४७९ रहेको छ तर कुलुङ जातिको आधिकारिक संस्था नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घ (किरात कूलू गूसखोम) ले गरेको आन्तरिक जनगणना अनुसार कुलुङ जातिको जनसङ्ख्या एक लाख ६० हजारभन्दा बढी छ । हालसम्म आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन (आजउराप्र) २०५८ को दफा २ (क) अनुसार कुलुङ जातिलाई छुट्टै जातिका रूपमा सूचीकृत गरिएको छैन, राईमै गाभिएको छ । त्यस दफामा व्याख्या गरिए अनुसार ‘‘...छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूचीबमोजिमको जाति वा समुदाय सम्झनु पर्छ” भनिएको छ । यसरी हेर्दा कुलुङ जाति सहजै आदिवासी जनजाति सूचीमा सूचीकृत हुनुपर्ने देखिन्छ । किनभने ऐनले तोकेभन्दा बढी आधार कुलुङ जातिमा छ । जस्तै– ‘कुलुङ’ जातिको ऐतिहासिक ‘महाकुलुङ’ भूमि छ । त्यस्तै अरू जातिको भन्दा छुट्टै मातृभाषा, वेशभूषा, गरगहना, मौलिक धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, परम्परागत कानुन, चाडपर्वहरू पनि फरक रहेको छ ।
हालसम्म नेपालको जातीय बनोट हेर्दा बाहुन नेपालको एउटा जाति हो भने बाहुनभित्रको निरौला, पाण्डे, घिमिरे, पोखरेल, गौतम, दाहाल आदि थरहरू हुन् । त्यस्तै क्षेत्री एक जात हो भने थापा, कार्की, बस्नेत, कटुवाल, बुढाथोकी, डाँगी, राउत आदि क्षेत्रीको थर हो साथै लिम्बू एक जाति हो भने आङ्देम्बे, चेमजोङ, इङ्नाम, लुम्फुङ्वा, नेम्वाङ, खेवा, लिङ्देन आदि लिम्बूको थर हो ।
हो, त्यस्तै गरेर ‘कुलुङ’ एक जाति हो भने कुलुङ जातिको प्रमुख चार वंश र ती वंशभित्रका विभिन्न थर र उपथर छन् । कुलुङ जातिले थरलाई ‘पाछा’ भन्छन् । त्यसैले गर्दा ‘कुलुङ–कुलुङ’ बिचमै बिहेबारी हुने गरेको छ । नत्र त कसरी ‘कुलुङ–कुलुङ’ बिचमै एक आपसमा बिहेबारी हुन्थ्यो ?
कुलुङ जातिका सुरुका पुर्खाहरू चार जना हुनुहुन्थ्यो । ती पुर्खाहरू क्रमशः छेम्सी, ताम्सी, खप्दूलू र राताप्खू हुन् । यी पुर्खाहरूले सुरा चर्चेको भूमिलाई ‘महाकुलुङ भूमि’ भनिन्छ । पछिल्लो पटकको राज्य पुनर्संरचनापछि ‘महाकुलुङ भूमि’ महाकुलुङ र सोताङ गाउँपालिकाभित्र पर्छ । कुलुङ जातिका मुख्य चार वंशभित्रका थर र उपथरहरू यस्ता छन् । छेम्सी वंश ः मोरोखू, वारोखू, देमाखू, वालाखाम, फोनीबू, वादीरी, थीमरा, मूम्हो, पोखोती ओखोथी, थीम्रा, तोमोछा, पीदीसै, सेकछा, तोर्ङो, गदूहो, देनीखू, नमाखम, होमूछा, सेकती, नीमरस, सोखोबूस आदि । ताम्सी वंश ः आयाबू, दवार, रीन्हो, रङ्निीबू, थोरेप्पा, ङोपोचो, तोङेर्बू, बूक्खो, सोम्फोरू, लाम्लछा, ताम्बूछा, छाप्दूलू, छाप्कोती, गोतीमी, तीनीखू, हासीबू, सानालूङ, साम्दीबू, सेकाती, गेब्दूलू, रेप्खोस, राङ्गेन्दा, राजीबू, बार्सी, होङेलू, हारीम्बू, ङोपोचो, मान्थेर्बू, मायात्ती, मूलूखू आदि । यस्तै राताप्खू वंश ः कूबीत्ती, रीबीत्ती, रुखूपो, मूलूखू, मायात्ती, मोल्थो, पायात्ती, येइमूछा, नीछीती, नीतीबू, छाम्नीहो, ताम्नीहो, छेन्दीबूस, हीउसी, बीजीदेउ, होबेर्मी, हीन्दूखू, होलूम्बू, पोङ्कीरी, रोङगेन्दा, येइमूछा आदि ।
खप्दूलू वंश : होनीत्ती, लोवात्ती, सूर्वा, राजीत्ती, छेन्हो, थोमरोस, मोरोमूल, फोवात्ती, देउराम, मूलूलू, गोक्तूलू, थोप, रेम्नीसीङ, सैमालूङ, होपोत्ती, रीङालू, होबीत्ती, नीतीबू, छेइमाहो, छेन्दीसी, येइसा, यातीहो, लामाखूस, सायपोस, सालीखाम्स, श्रीपोस, दीरीत्ती आदि ।
हालसम्म ‘कुलुङ’ जातिभित्रै ३८० भन्दा बढी विभिन्न थर र उपथर रहेका छन् । कुलुङ जातिका मानिस आफ्नो ऐतिहासिक भूमि ‘महाकुलुङ’ लाई मातृभाषामा ‘मा कूलू’ भन्छन् । त्यस्तै कतिपय विदेशी लेखक तथा अन्वेषकका साथै नेपालका अन्य जातिले चाहिँ यो भू–क्षेत्रलाई ‘महाकुलुङ’ (ग्रेटर कुलुङ) भनेर चिन्छन् । कुलुङ जातिको बाक्लो बसोबास क्षेत्रहरू सोलुखुम्बुको महाकुलुङ क्षेत्रबाहेक सङ्खुवासभा, भोजपुर, सुनसरी, इलाम, झापा, मोरङ र भारतको दार्जिलिङ, सिक्किम, असमलगायतका ठाउँ हो भने तेह्रथुम, चितवन, धनकुटा, ताप्लेजुङ, पाँचथर, उदयपुर, सिराहा, कास्की, खोटाङ, काठमाडौँ, ललितपुर, भक्तपुर, मुस्ताङ, धनुषालगायत लगभग २४ जिल्लामा कुलुङ जातिको बसोबास रहेको छ ।
त्यस्तै विसं २०५८/५९ (यले दोङ ५०६१) मा चन्द्रसिंह कुलुङ, टङ्क सोम्फोरू, प्रकाश लोवात्ती कुलुङ, पत्तिबहादुर सोम्फोरू, मेखबहादुर कुलुङ, सूर्यबहादुर कुलुङ, इन्दिरा कुलुङ, पाण्डु राजित्तिलगायतको सक्रियतामा भाषाविद्हरू अमृत योन्जन–तामाङ र डा. माधव पोखरेलको सहयोगमा कुलुङ भाषाको स्वर वर्ण र व्यञ्जन वर्ण पहिचान गरिएको थियो । त्यस अनुसार कुलुङ भाषामा २१ वटा व्यञ्जन वर्ण र १२ वटा स्वर वर्ण पहिचान गरिएको छ । कुलुङ भाषामा दीर्घ मात्रै भएकाले लिपिबद्ध गरिँदा दीर्घलाई ह«स्व मान्ने र दीर्घ जनाउँदा विसर्ग (ः) दिने वा ः चिह्न प्रयोग गर्ने व्यवस्था गरिएको छ ।
कुलुङ जातिको अरू जातिभन्दा भिन्न प्रकारको वेशभूषा, धर्म, रीतिथिति, संस्कार–संस्कृति, चालचलन, परम्परागत कानुन, मूल्य–मान्यता आदि रहेको छ । कुलुङ जातिभित्रै जन्मदेखि मृत्युसम्ममा आफ्नै जातिका पुर्खाले मुख्य भूमिका निर्वाह गर्छन् । त्यस्तै जहाँसुकैका कुलुङहरूले पनि मृत्युपछि मृत्यु संस्कार गर्दा मृतक (मृत आत्मा) को आत्मालाई महाकुलुङको ‘पोम्लालुङ’ भन्ने ठाउँमा पठाउनु पर्छ । कुलुङ जातिमा चलेको विश्वास र मान्यता अनुसार यो (पोम्लालुङ) नै कुलुङ जातिका लागि ‘स्वर्ग’ हो । मृतकलाई यसरी ‘स्वर्ग’ अर्थात् पोम्लालुङ पठाउँदा पुग्नुअघि मृतकलाई पानी पिउन दिने ठाउँ छ । यो ठाउँलाई ‘पोम्ला काउ’ भनिन्छ ।
‘पोम्ला काउ’ भन्ने ठाउँ सोलुखुम्बु जिल्लाको तत्कालीन बुङ र छेस्खाम गाविसको पेल्माङ/पिल्मो गाउँमा पर्छ । यसरी मृतकलाई पठाइने कुलुङ जातिको स्वर्ग अर्थात् ‘पोम्लालुङ’ सोलुखुम्बु जिल्लाको ‘गुदेल’ मा पर्छ । जुन स्थललाई कुलुङ जातिले पवित्रस्थल मान्ने गर्छन् । त्यस्तै विवाहमा चेली पक्षले ज्वाइँ पक्षलाई सुक्तुलू (चुल्हा) मा दी (जाँड) र हाङ्मुवा (रक्सी) चढाउँदै ‘रोङखोङ’–‘दी खोङ’ (नेपाली भाषा वागदत्ता) दिएर सम्पूर्ण रूपमा सुम्पने गरिन्छ ।
सामान्यतया कुलुङहरू दुई पटक विवाह गर्दछन् । पहिलो बिहेसम्म चेलीको मृत्यु भइहालेमा माइती पक्षले नै काजकिरिया गर्नु पर्छ । दोस्रो विवाह छिन्ती विवाह हो; जसलाई ‘दाप्लो कुइम’ भनिन्छ । कुलुङ जातिको आफ्नै जातीय पहिरन, गरगहना र मौलिक बाजागाजाहरू पनि छ ।
कुलुङ जातिमा जन्म संस्कार गर्दा बालबालिका जन्मेपछि जन्म दिने आमा (सुत्केरी) आफैँले नाइटो काट्ने, भाङ्ग्रे सिस्नोको धागोले बाँध्ने, बच्चालाई भाङ्ग्राकै कपडाले बेरेर राख्ने, स्थान र समय अनुसार पाँच÷सात दिनमा कटुस, उत्तिसको काँचो बोक्रा र हरियो पात मिसाएर कुटेको धुलोले बच्चा र सुत्केरीलाई नुहाई दिने गरिन्छ । यसरी नुहाएपछि चोखो भएको मानिन्छ । मृत्यु संस्कारमा भने अकालमा मरेकाहरूलाई खाडल खनेर, घरभन्दा टाढा जङ्गल, ओडार आदिमा काँडा बिछ्याएर, लासलाई नाँगै घोप्टो पारेर राखिन्छ र फेरि लासमाथि काँडा, सिस्नो आदिले छोपेर पुरिन्छ । यस्तो मृत्युलाई कुलुङले ‘हील्सी’ भन्छन् । स्वाभाविक रूपमा मृत्यु भएकालाई घु¥यान वा घरनजिकैको बारीमा गाड्ने गरिन्छ ।
कुलुङ जातिको चाडपर्वमध्ये चाक्चाकूर, तोस, देदाम, नागी, मोबो वा साप्लोपा, साइपोम÷साइपोको आदि प्रमुख हुन् । ‘देदाम’ चाहिँ साह्रै अनिकाल प¥यो, दुःख, बिमार भयो भने मात्रै गर्ने प्रचलन छ । साथै ‘देदाम’ गर्नु साह्रै खर्चिलो पनि हुन्छ ।
स्मरणीय छ, देदाम गर्नलाई जोडी सुँगुर, कुखुरा, वादी (अण्डा), दी र हाङ्मुवा (जाँडरक्सी) आदि इत्यादि चाहिन्छ भने उक्त कार्य गर्दा नोक्छोले सुँगुरलाई ढाडमा तरबारले हानेर मार्नु पर्छ । तोस गर्दा ‘योङकुलु’ अर्थात् पवित्र ढुङ्गा राखिन्छ । त्यस्तै नागी गर्दा ‘दी छारी’ मा लीप् (घेम्पा) पिँधमा प्वाल पारेर राखिएको हुन्छ; जुन ‘दी’ ले ‘सुक्तुलू’ (चुल्हो) ‘दाम्फे’ पुजिन्छ । यस्तो कार्य ठाउँ अनुसार फापर, जौ र कोदोको जाँडले गर्ने गरिन्छ ।