• २७ पुस २०८१, शनिबार

जाजरकोट भूकम्प

अट्ठाइस हजार अस्थायी आवास तयार

blog

काठमाडौँ, पुस १३ गते । जाजरकोटको रामीडाँडामा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते राति गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट प्रभावित क्षेत्रमा २८ हजार अस्थायी आवास (टहरा) निर्माण भएका छन् । भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम, सल्यान, बझाङ र बाजुरा गरी पाँच जिल्लामा ८० हजार घर भत्किँदा १५३ जनाको मृत्यु भएको थियो । 

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले भूकम्पले पूर्ण रूपमा क्षति पुगेका २८ हजार घरका बासिन्दाका लागि अस्थायी आवास निर्माण सम्पन्न हुने अवस्थामा रहेको बताउनुभयो । बस्न नमिल्ने अवस्थाका थप ५२ हजार घरका बासिन्दाका लागि अस्थायी आवास निर्माणको काम तीव्र गतिमा अगाडि बढाउन गृह मन्त्रालयले प्रविधिकसहित सुरक्षाकर्मी परिचालन गरेको पनि भट्टराईले जानकारी दिनुभयो । 

सङ्घीय संसद् अन्तर्गतको प्रायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले विपत् व्यवस्थापन तथा पूर्वतयारीमा सरकारले गरेका प्रतिबद्धता र त्यसको कार्यान्वयनबारे बिहीबार गृह मन्त्रालयसँग छलफल गरेको थियो । समितिको बैठकमा जवाफ दिने क्रममा सचिव भट्टराईले भूकम्प प्रभावित पाँच जिल्लाका बासिन्दाको उद्धार, राहत तथा  पुनस्र्थापनाबारे सङ्घीय सरकारले गरेका कामबारे जानकारी गराउनुभएको थियो ।

अस्थायी आवास निर्माणका लागि केन्द्र सरकारले दुई अर्ब २६ करोड रुपियाँ उपलब्ध गराइसकेको जानकारी दिनुभयो । उहाँले भूकम्पबाट क्षति पुगेका ८० हजार घरका बासिन्दालाई अस्थायी आवास निर्माणका लागि चार अर्ब रुपियाँ आवश्यक पर्ने र प्रधानमन्त्री राहत कोषबाट रकम उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिनुभयो । 

पीडितको पहिचान गरी स्थानीय निकाय तथा वडा कार्यालयबाट सिधै २५ हजार वितरण गर्ने र अस्थायी आवासको काम ५० प्रतिशत सम्पन्न भएपछि बाँकी रकम बैङ्क खातामा पठाउने निर्णय भएको थियो । 

भूकम्प गएका दिन बसेको मन्त्रीपरिष्दको बैठकले तत्काल १० करोड रुपियाँ निकासा गरी राहत तथा उद्धारमा खटिएको थियो । पीडितहरूको यकिन पहिचान गरी प्रभावकारी बनाउन स्थानीय निकायबाट समेत स्रोत परिचालन सुरु गरिएको थियो । पुनस्र्थापनालाई थप प्रभाकारी बनाउन गृह मन्त्रालयले आर्थिक तथा प्राविधिक परामर्श तथा सहज रूपमा सहायता वितरणका लागि दक्ष जनशक्तिसहितको दुई वटा विशेषज्ञ टोली प्रभावित जिल्लामा खटाएको छ ।